काठमाडौं । नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतका परियोजना निरन्तर अघि बढ्ने भएका छन्। अमेरिकाबाट प्राप्त आधिकारिक पत्रका आधारमा अर्थ मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै एमसीसी कम्प्याक्टको पुनरावलोकन कार्य सकिएको र नेपालका लागि परियोजना निरन्तरताको सिफारिस गरिएको स्पष्ट पारेको हो।
अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएअनुसार, अमेरिकी सहायता संस्था एमसीसीले जुलाई २४ (साउन ८) मा पठाएको पत्रमार्फत पुनरावलोकन प्रक्रिया पूरा भएको र कम्प्याक्ट निरन्तरताका लागि सकारात्मक सिफारिस गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ को कार्यकारी आदेशपछि एमसीसी परियोजना ‘रिभ्यु’मा परे पनि अब उक्त प्रक्रिया सकिएको र नेपाल कम्प्याक्टलाई निरन्तरता दिने निर्णय भएको जानकारी अमेरिकी पक्षबाट आएको छ।”
यसअघि, २०७४ साल भदौ २९ गते नेपाल सरकार र एमसीसीबीच सम्झौता भएको थियो। पछिल्लो समयमा अमेरिकी प्रशासनको कार्यकारी आदेशपछि परियोजनाको समीक्षा थालिएको थियो, जसको निष्कर्षस्वरूप अब एमसीसी अन्तर्गतको सहयोग परियोजना पुनः अवरुद्ध नहुने गरी अघि बढ्ने अर्थ मन्त्रालयको पुष्टि छ।
यस सन्देशसँगै, नेपालमा विद्युत् प्रसारण लाइन विस्तार र सडक पूर्वाधार सुधारमा केन्द्रित एमसीसी परियोजनाहरूमा अवरोधको आशंका टरेको देखिएको छ।





