काठमाडौं । बागमती प्रदेशमा राजनीतिक तनाव चुलिँदै गएको छ। मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध नेपाली कांग्रेसकै २१ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि सत्ता स्थायित्वको प्रश्न उठेको छ। प्रस्तावको अगुवाइ कांग्रेस सांसद इन्द्र बानियाँले गरेका हुन्।
मुख्यमन्त्रीसमेत रहेका लामा कांग्रेस संसदीय दलका नेता हुन्। बजेटसम्बन्धी गहिरो विवादपछि कांग्रेसभित्र असहमति बढ्दै जाँदा लामाको नेतृत्वमाथि प्रश्न उठेको हो। विवाद उत्कर्षमा पुग्दा पार्टीभित्रैबाट उनको नेतृत्वमा असहजता देखिँदै अविश्वास प्रस्तावको रूप लिएको हो।
यसबीच, नेकपा एमालेले उक्त घटनालाई कांग्रेसको आन्तरिक विषय भन्दै अविश्वास प्रस्तावबारे चाँडो निष्कर्षमा पुग्न सुझाव दिएको छ। बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेशलाई अनावश्यक अस्थिरतामा नठेल्न आग्रह गर्दै विकास कार्यमा असर पर्ने चेतावनी दिएका छन्।
थपलियाले भने, “अन्य पार्टीको आन्तरिक मामिलामा हाम्रो चासो छैन, तर समस्या चाँडो समाधान होस् भन्ने हाम्रो चाहना हो। सरकार अस्थिर बनाउने कदम उचित होइन। यसले विकासलाई नै अवरुद्ध पार्छ।” मुख्यमन्त्री लामाले भने आफू प्रस्तावको सामना गर्न तयार रहेको प्रतिक्रिया दिएका छन्।
अहिलेको राजनीतिक स्थितिबाट बागमती प्रदेशको सत्ता समीकरण फेरिने संकेत देखिन थालेको छ। कांग्रेसभित्रको मतभिन्नता, एमालेको अवलम्बन गरेको ुहस्तक्षेप नगर्ने तर स्थायित्व चाहिनेु नीति र सम्भावित सत्ता समायोजनका समीकरणले प्रदेश राजनीति थप रोचक मोडतर्फ उन्मुख भएको छ।




