काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने भएको छ । बैठकमा दुईवटा विधेयक प्रस्तुत हुने कार्यसूची तय गरिएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।
त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । उक्त विधेयक राष्ट्रिय सभाबाट उत्पत्ति भएको हो ।
यसैबीच आज तीन वटा संसदीय समितिका बैठकहरू पनि बस्नेछन् । प्रतिनिधिसभाको अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ सम्बन्धी संशोधनकर्ता सांसदहरूसँग छलफल हुनेछ ।
यस्तै, राष्ट्रियसभाअन्तर्गत विधायन व्यवस्थापन समितिमा ‘जलस्रोत विधेयक, २०८१’ माथि दफावार छलफल हुनेछ भने प्रत्यायोजित विधायन समितिको बैठकमा ‘राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदन’ माथि छलफल तथा पारित गर्ने कार्यसूची रहेको छ ।




