रिबन

प्रजातान्त्रिक समाजवादका प्रणेता बीपी कोइराला

समाजमा ज्ञानको दायरा फराकिलो छ । समयक्रम अनुसार हामी आलोचक ( समालोचक पनि धेरै छौँ । हामीलाई आज जुन कुरो एकदम सान्दर्भिक जस्तो लाग्दछ त्यही कुरो बीपीले शताब्दी अगाडि बोलिसक्नुभएको छ ।

राजावादीका नजरमा बीपी नै असल , कम्युनिष्टका नजरमा बीपी नै सर्वाधिक मन परेको नेता , नयाँ दलका नजरमा समेत बीपी नै उम्दा राजनेता भैरहँदा नेपाली काँग्रेसका संस्थापक नेता बीपीको आफ्नै घरभित्र वर्तमानको बुझाइ के हो ? कार्यकर्ताले सोधेको प्रश्न यही हो । मनिषा कोइरालालाई राजा चाहिएको छ । दिदीलाई इतिहास कस्ले बुझाइदिने ?

कुनैबेला दरबार बीपीको कतिसम्म अपमान गर्न उद्धत थियो भने दरबारले बोलाएको चियापानमा निर्धारित ड्रेसअपमा नभएका कारण बीपीले दरबारको ढोकाबाट फर्किनुपरेको थियो । बीपीको व्यक्तित्वबाट पञ्चहरू यति त्रस्त थिए, उनको निधनपश्चात् राजा वीरेन्द्रले दिएको वक्तव्यमा बीपीलाई पूर्वप्रधानमन्त्री वा नेताका रूपमा पनि सम्बोधन गरिएन । ‘जसरी कुनै पनि नेपाली नागरिक मर्दा हामीलाई दुःख लाग्दछ, त्यसैगरी बीपीको निधनमा पनि हामीलाई दुस्ख लाग्दछ’ भन्दै राजदरबारबाट विज्ञप्ति जारी गरियो । जीन्दगीभर अपमानको बीष पिएर बाँच्नुभएको बीपीले जीवन रहँदासम्म कहिल्यै राजाप्रति तुस राख्नुभएन ।

राजा र मेरो घाँटी जोडीएको छ भन्ने प्रसङ्गमा नयाँ व्याख्याताहरू बीपीलाई दरबार नै प्रिय , राजा नै प्रिय भएजसरी प्रवचन दिन्छन् ।वास्तवमा बीपीको त्यो बेलाको यो वाक्यले दिन खोजेको सन्देश बुझ्न आत्मवृत्तान्त पढ्नुपर्छ । हामीलाई पढ्न मन लाग्दैन । जस्ले जे भन्यो त्यही रट्न मन लाग्छ । गज्जबको कुरो त के छ भने वीपीले ०१५ सालमै आफ्ना कार्यकर्ताका सात खराबी औंल्याउनुभएको रहेछ ः

१, बढी आत्मविश्वास २, आफ्ना चाहना र बानी अनुसार समस्याको हलको चाहना ३,उत्तरदायित्वबोधको कमी ४,जनतासँगको बढ्दो दुरी ५, नेता–कार्यकर्ता र जनताबीच खाडल ६, अध्ययनको ठूलो कमी ७,नैतिकताको अभाव ।

खराबी मध्यको छैटौँ खराबीको शिकार भएका कार्यकर्तालाई बीपीको बारेमा भैरहेको गलत प्रचार र व्याख्याको बारेमा तर्क गर्न आउँदैन । हामी फोटो खिच्ने , तस्वीरमा माला लगाउने र सधैँ बीपीले भन्नुभएको चर्चित लाइन रटेर बीपीको बारेमा घण्टौ बोल्ने भएका छौँ । त्यसैले आज काँग्रेस अल्मलिएको छ ।

आज ४३ औँ बीपी स्मृति दिवस !

काँग्रेसले बीपीको तस्बिरमा पूजा गर्‍यो कि गरेन ? पार्टी कार्यालयमा तस्वीर राख्यो वा राखेन ? यो गौण पक्ष हो ।किनकी सन्दर्भले ठूलो अर्थ राख्दैन ! कोठामै तस्बिर राख्नु र मस्तिष्कमा संस्कार राख्नु अलग कुरो हो । महत्त्व त बीपी, विचार , सिद्धान्त र आदर्श अनुरूपको व्यवहार काँग्रेसीजनमा देखिएको छ कि छैन रु आजको मूल प्रश्न यो हो । नयाँ पुस्ताले बहस यसैमा केन्द्रीत गर्नुपर्ने देखिन्छ ।

नेपाली राजनीतिका यशस्वी राजनेता, साहित्य अनुरागीका विश्वेश्वर प्रसाद कोइराला, कार्यकर्ताका सानदाजु , जनताका बीच जननायक , प्रजातान्त्रिक समाजवादका प्रणेता, नेपाली काँग्रेसका संस्थापक श्रद्धेय नेता बीपी कोइरालाप्रति असीम श्रद्धाभाव सहित हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।

( जय नेपाल !!!)

स्रोत : लेखक तथा बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्लेको फेसबुक वालबाट

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *