मुख्य समाचार

राप्रपा पार्टीभित्र चरम असन्तुष्टि, निरंकुश शैलीमा पार्टी अध्यक्ष अघि बढेको आरोप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र नेतृत्वको नाममा स्वेच्छाचारी शासन चलिरहेको भन्दै आक्रोशित नेताहरू एकपछि अर्को गर्दै निर्वाचन आयोग धाइरहेका छन्। अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष पदबाट हटाएका मुकुन्दश्याम गिरी आइतबार उजुरी लिएर आयोग पुगेका छन्। पार्टीको निर्णयलाई उनले विधानको ठाडो उल्लंघन भनेका छन्।

गिरीमात्र होइन, प्रवक्ताबाट हटाइएका सगुन लावती र अनुशासन आयोगको सिफारिसमा पदमुक्त गरिएका नवराज सुवेदी पनि आयोगको ढोका ढक्ढक्याउँदै लिङ्देनको निर्णयविरुद्ध अवाज उठाइरहेका छन्।

पार्टीभित्र सत्ताकेन्द्रित गुटबन्दी खुला रूपमा विस्फोट भएको छ। महामन्त्री डा. धवलशमशेर राणा, विक्रम पाण्डे, कुन्ती शाही र गिरीजस्ता वरिष्ठ नेताहरूले लिङ्देनमाथि “एकलौटी व्यवहार, पद बाँडफाँडमा मनपरी, र विधिको ठाडो उपेक्षा” को आरोप लगाउँदै संयुक्त चेतावनी जारी गरेका छन्।

चार वरिष्ठ नेताहरूको अपिलमा भनिएको छ, “राजसंस्था र हिन्दू अधिराज्यजस्ता पार्टीको आत्मासँग जोडिएका मुद्दामा अगाडि रहेका नेताहरूमाथि गरिएको यो कारबाहीले राप्रपा कमजोर बनाउँदैछ, सुदृढ होइन।”

उनीहरूले अध्यक्ष लिङ्देनको शैलीलाई ‘नयाँ शैलीको निरंकुशता’ भन्दै सशक्त असहमति जनाएका छन्। पार्टी विधान पालना होस्, पद बाँडफाँडमा पारदर्शिता होस्, स्वेच्छाचार अन्त्य होस्, उनीहरूको आग्रह स्पष्ट छ।

यस घटनाले राप्रपाभित्र गहिरिँदो असन्तोष, नेतृत्व संकट र संस्थागत गम्भीरता गुमाउँदै गएको संकेत दिएको छ। लिङ्देनले आफ्नो निर्णय फिर्ता लिन्छन् कि झन् कडा रूपमा प्रस्तुत हुन्छन् — त्यो अबको खेल हेर्न बाँकी छ। तर यति भने पक्का छ, राप्रपाको घरभित्र अहिले आगो सल्किएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *