राजनीति

अध्यक्ष ओलीको निर्णयपछि पूर्वराष्ट्रपति भण्डारीको पुनः एमालेबाट राजनीतिमा फर्कने बाटो बन्द भएकै हो त ?

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेश गर्ने घोषणा जति चर्चित बनिरहेको छ, त्यो भन्दा बढी नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक प्रतिक्रिया यसबारे निर्णायक बन्ने देखिएको छ। ओलीले पोलिटब्युरो बैठकमा दिएको मन्तव्यले भण्डारीको पुनरागमनको बाटो खुल्नेभन्दा बन्द हुने संकेत दिएको छ।

ओलीले स्पष्ट रूपमा भने, “पूर्वराष्ट्रपति फर्किन हुँदैन, उहाँलाई त्यो जिम्मेवारी दिइएको हो।” उनले सदस्यता नवीकरण सम्बन्धी निर्णय पार्टी प्रक्रिया अनुसार हुने बताएका छन्। भण्डारीको पुनरागमनलाई पार्टीले नै निर्णय गर्नुपर्ने भन्दै कुनै पूर्वनिर्णय नभएको ओलीको भनाइ पार्टीभित्रको असहज मनोविज्ञानको संकेत पनि हो।

पूर्वराष्ट्रपतिका रूपमा गरिमामय भूमिका निर्वाह गरेकी भण्डारी अब एमालेमा फर्किएर सामान्य नेतृ बन्ने बाटो रोज्न चाहन्छिन्। उनले सार्वजनिक सेवा–सुविधा त्यागेर पार्टीमा फर्किनु, जबजको प्रशंसा गर्दै सार्वजनिक सम्बोधन गर्नु, र कांग्रेस नेतासँगको भेटवार्ता – यी सबै गतिविधिले उनले गम्भीर तयारीसाथ मैदानमा फर्किन चाहेको देखाउँछ।

तर यसलाई ओलीको अनौपचारिक प्रवेश स्वीकार छैन भन्ने अभिव्यक्तिले रोक लगाउने संकेत दिएको छ। ओलीको चिन्ता कतै भण्डारीले पार्टी नेतृत्वको उत्तराधिकारीको रूपमा आफूलाई प्रस्तुत गर्ने सम्भावनातर्फ केन्द्रित त छैन ?

पार्टी भित्र हालसालै विधानसम्बन्धी विवाद, असन्तुष्टि र खनखनी चर्किरहेको बेला भण्डारीको प्रवेशले अझै शक्ति सन्तुलन गडबडाउने आँकलन गरिँदैछ। खासगरी ओली–केन्द्रित नेतृत्वमा विकल्पको बहस चलिरहेकै बेला भण्डारीको उपस्थिति केही नेताहरूका लागि ‘रणनीतिक चुनौती’ जस्तो देखिएको हुन सक्छ।

यता, कांग्रेस नेतृ सुजाता कोइरालादेखि लिएर एमाले उपाध्यक्ष ईश्वर पोखरेलसम्मले भण्डारीको पुनरागमनलाई स्वागत गरेपछि यो ‘व्यक्तिगत निर्णय’ मात्र नभई ‘राजनीतिक हस्तक्षेप’ बन्ने सम्भावना बढेको छ।

पूर्वराष्ट्रपतिले पुनः पार्टी राजनीतिमा फर्किनु कानुनी हिसाबले रोकिएको छैन। तर पदको मर्यादा, राजनीतिक नैतिकता र पूर्व राष्ट्रपतिको तटस्थ भूमिकाबारेको बहस उठ्नु स्वाभाविक हो। भण्डारीले भने राष्ट्रपतिको भूमिकामा संवैधानिक व्यवस्था अनुसार काम गरेको र कुनै दबाबमा निर्णय नगरेको दाबी गर्दै आएकी छन्।

उनले स्पष्ट रूपमा भनेकी छन्, “मेरो कुनै विशेष महत्वाकांक्षा छैन, तर म जबजको अभियानसँग पुनः जोडिएकी हुँ।” यसले उनको उद्देश्य अझै विचारात्मक प्रभाव पार्नेमै केन्द्रित रहेको देखाउँछ।

विद्या भण्डारीको पुनरागमन अब उनका भाषण वा व्यक्तिगत निर्णयले मात्र तय हुने छैन। ओली नेतृत्वको पार्टीले कसरी यो मुद्दा ‘पार्टी एकता’ र ‘नेतृत्व सन्तुलन’ सँग गाँसेर व्याख्या गर्छ, त्यसले आगामी दिनको दिशा निर्धारण गर्नेछ।

हालको संकेत अनुसार, ओली भण्डारीको पुनरागमनबाट असहज छन्। तर पार्टीको लोकतान्त्रिक प्रक्रिया, महिला नेतृत्वको सशक्तीकरण, र जबजको निरन्तरताका नाममा भण्डारीले केही ठाउँ बनाउने संभावना जीवितै छ।

विद्या भण्डारीको कमब्याक घोषणापछि एमालेभित्र शक्ति सन्तुलन र वैचारिक प्रतिस्पर्धा सुरु भइसकेको छ। ओलीको पछिल्लो वक्तव्यले भण्डारीको पुनरागमनमा तत्काल ढोका खुल्ने सम्भावना कम देखिएको छ, तर उनको उपस्थिति मात्रले पनि पार्टीभित्र नयाँ बहस सुरु गरिसकेको छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *