काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। आइतबार बसेको १७औँ नगरसभाको पहिलो बैठकमा उपमेयर सुनिता डंगोलले यो बजेट सार्वजनिक गरेकी हुन्। बजेटमा २५ अर्ब ११ करोड संचित कोषमा पर्ने र ६५ करोड अन्य बाह्य व्ययभार हुने उल्लेख छ। यो बजेट गत वर्षको तुलनामा झण्डै ८५ करोडले बढाइएको हो।
महानगरले आन्तरिक आय र बैंक मौज्दातबाट २० अर्ब १२ करोड रुपैयाँ जुटाउने योजना बनाएको छ। त्यसबाहेक संघीय र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा ४ अर्ब ९८ करोड अनुदान प्राप्त हुने अपेक्षा गरिएको छ।
उपमेयर डंगोलका अनुसार बजेटको खर्च यसरी छुट्याइएको छ :
पूर्वाधार विकासमा ५१ प्रतिशत — १२ अर्ब ८० करोड
सामाजिक विकासमा २० प्रतिशत — ५ अर्ब २ करोड
सुशासन तथा सम्वन्धित क्षेत्रमा १२ प्रतिशत — ३ अर्ब १ करोड
कार्यालय सञ्चालनमा १४ प्रतिशत — ३ अर्ब ५१ करोड
आर्थिक विकासमा ३ प्रतिशत — ७५ करोड
बजेटमा शिक्षा सुधार, सहरी स्वास्थ्य, रोजगार अभिवृद्धि, फोहोर व्यवस्थापन, ध्वनि प्रदूषण नियन्त्रण, सार्वजनिक यातायात व्यवस्थापन र सम्पदा संरक्षणजस्ता कार्यक्रमहरूलाई उच्च प्राथमिकता दिइएको छ।
‘एक वडा, एक उद्यम’ कार्यक्रमलाई विस्तार गर्दै, उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जना गर्न विशेष योजना अघि सारिएको छ।
उपमेयर डंगोलले बजेट समयमै पेश हुन नसकेकोमा क्षमायाचना गर्दै भनिन्, “हामीबीच केही मनमुटाव र अविश्वासका घडी भए, तर अहिले फेरि एकतामा फर्किएका छौं। समस्याहरू समाधान भइसकेका छन् र हामी पुनः सँगै अगाडि बढ्न तयार छौं।”




