राजनीति

आफ्नै उम्मेदवार पराजित गराउन भूमिका खेलेको आरोपमा कांग्रेस लुम्बिनीका महामन्त्री निष्कासित

रुपन्देही । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाललाई एक वर्षका लागि पार्टी सदस्यताबाट निष्कासन गरेको छ।

२०७९ सालको संघ र प्रदेशसभा निर्वाचनमा खनालले पार्टीका उम्मेदवारहरू विनोद चौधरी र देवेन्द्रराज कँडेललाई पराजित गराउन भूमिका खेलेको उजुरी पार्टीमा दर्ता भएको थियो। लामो समयपछि उक्त उजुरीको आधारमा अनुशासन समितिले उनलाई कारबाही गरेको हो।

समितिका सभापति आनन्दप्रसाद ढुंगानाले लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलाई पत्र पठाउँदै कारबाहीको जानकारी गराएका छन्।

कांग्रेस विधान अनुसार कारबाही
पत्रमा उल्लेख अनुसार, २०८२ असार १७ गते बसेको अनुशासन समितिको बैठकले खनाललाई स्पष्टीकरण माग्दा चित्तबुझ्दो जवाफ नआएको भन्दै पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा १ (क), (ख), (घ) र उपधारा ८ (ड) बमोजिम एक वर्षका लागि निष्कासन गर्ने निर्णय गरेको उल्लेख छ।

नवलपरासीको बर्दघाट नगरपालिका–१० का खनाल कांग्रेस इतर समूहमा रहेका नेताका रूपमा चिनिन्छन्।

महामन्त्रीको प्रतिवाद
खनालले आफूविरुद्धको कारबाही अस्वीकार गर्दै जिल्लामै पत्रकार सम्मेलन गरी त्यसको प्रतिवाद गरेका छन्। असार १६ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकमा पनि उक्त विषय प्रवेश गरेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *