काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकले ‘संघीय निजामती सेवा विधेयक, २०८२’ बहुमतले पारित गरेको छ। यस विधेयकले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धी कानुनी आधार तयार पार्नेछ।
बैठकमा सांसदहरू रेखा शर्मा, प्रेम सुवाल, प्रकाश ज्वाला, महेन्द्रबहादुर शाही, जनार्दन शर्मा, अमनलाल मोदी, रणेन्द्र बराइली र प्रभु साह लगायतले विधेयकमाथि धारणा राखेका थिए। उनीहरूले कर्मचारी संरचना, पारदर्शिता, समान अवसर र सेवा सुरक्षाका विषयमा आफ्ना आशंका, समर्थन र सुझाव व्यक्त गरे।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिएपछि पारित गर्न प्रस्ताव गरेका थिए। बहुमतले समर्थन जनाएसँगै सभामुख देवराज घिमिरेले विधेयक पारित भएको घोषणा गरे।
प्रतिनिधिसभाको अर्को बैठक असार २३ गते अपराह्न १ः०० बजे बस्नेछ।




