राजनीति

अवरोधका कारण संसदमा ओलीको प्रश्नोत्तर कार्यक्रम रोकियो, प्रधानमन्त्रीको व्यंग्यात्मक प्रतिक्रिया -“मज्जा लाग्यो?”

काठमाडौँ। प्रतिनिधिसभाको आज (शुक्रबार)को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यसूची तय भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अवरोधका कारण कार्यक्रम स्थगित गरिएको छ।

सभामुख देवराज घिमिरेले संसदमा उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाएका थिए। कार्यक्रम हटाइएपछि प्रधानमन्त्री ओली संसद कक्षबाट बाहिरिए। संसद भवन बाहिर सञ्चारकर्मीले “आज तपाईँले संसदमा बोल्न पाउनु भएन हैन?” भनेर सोध्दा उनले हाँस्दै उल्टै प्रतिप्रश्न गरे — “मज्जा लाग्यो?”

आजको बैठकमा प्रश्नोत्तरबाहेक ६ वटा मन्त्रालयका वार्षिक विनियोजनमाथि छलफल तय गरिएको थियो। तर, युवा तथा खेलकुद तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका मन्त्रीहरूको अनुपस्थितिका कारण ती कार्यसूची पनि हटाइयो।

वर्तमान अवस्थामा भौतिक पूर्वाधार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उद्योग, वाणिज्य तथा आपूर्ति, र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसम्बन्धी कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल जारी छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *