
काठमाडौं ।राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८२’ प्रतिनिधिसभामा पेस गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा प्रतिवेदन पेस गर्दै सभापति खतिवडाले सबै नागरिकलाई कसरी नागरिकता दिन सकिन्छ भन्ने विषयमा समितिमा व्यापक छलफल भएको जानकारी दिए। सरोकारवाला पक्षसँगको छलफलपछि विधेयकलाई समितिले अन्तिम रूप दिएको उनको भनाइ थियो।
आमाको नामबाट नागरिकता र यसको महत्त्व
खतिवडाले आमाको नामबाट नागरिकता दिने व्यवस्था समितिले गरेको बताउँदै यसलाई महत्त्वपूर्ण कदमका रूपमा प्रस्तुत गरे। “आमा र देशलाई माया नगर्नेले कसैलाई पनि माया नगर्ने भएकाले आमाको नामबाट नागरिकता दिँदा कसैलाई आपत्ति हुनुहुँदैन,” उनले धारणा राखे।
निजामती विधेयक र मन्त्रीको कार्यभार हेरफेर
सभापति खतिवडाले निजामती विधेयकसम्बन्धी समितिको प्रतिवेदन पनि प्रतिनिधिसभामा पेस भइसकेको उल्लेख गर्दै आजको कार्यसूचीमा नपरे पनि शीघ्र पारित हुने विश्वास व्यक्त गरे।
बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए। मुख्यसचिवमार्फत प्राप्त पत्रअनुसार, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी खाद्य सुरक्षासम्बन्धी कार्यक्रममा भाग लिन थाइल्यान्ड गएकाले उनको मन्त्रालयको कार्यभार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सम्हाल्ने गरी तोकिएको जानकारी दिइएको थियो।