कोशी प्रदेश

धरानका लागि कोशीको पानी ल्याउने योजनामा ४ करोड बजेट विनियोजन , हर्क साम्पाङको प्रयास सफल

काठमाडौं । धरानका मेयर हर्क साम्पाङको माग अन्ततः पूरा भएको छ। खानेपानी मन्त्रालयले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा धरानमा कोशी नदीको पानी ल्याउने योजना समेटिएको छ। योजनाका लागि ४ करोड रुपैयाँ विनियोजन गरिएको छ।

साम्पाङ केही महिनाअघि रित्तो गाग्री बोकेर संघीय सरकारसँग बजेट माग गर्दै काठमाडौं आएका थिए। सिंहदरबारमा सम्बन्धित मन्त्रीहरूसँगको भेटवार्तापछि दिइएको आश्वासन अब बजेटमार्फत कार्यान्वयनमा आउने भएको हो।

मन्त्रालयले आगामी वर्ष १० अर्ब ६६ करोड बराबरको बजेटसहित साढे ५ सयभन्दा बढी खानेपानी आयोजना सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ। बजेट विवरण अनुसार, काठमाडौँ जिल्लाले सबैभन्दा धेरै १ अर्ब ४१ करोड रुपैयाँ प्राप्त गरेको छ भने रसुवा सबैभन्दा कम १ करोड ९५ लाखमा सीमित भएको छ।

विशेष कुरा के छ भने, खानेपानीमन्त्री प्रदीप यादवकै गृह जिल्ला पर्सा ११ करोड ५४ लाख रुपैयाँमा ५ आयोजना पाउँदै ४२औँ स्थानमा परेको छ। यसले मन्त्रीहरू आफ्नै जिल्लामा बढी बजेट केन्द्रित गर्ने चलन नदोहरिएको संकेत दिएको छ।

यो योजनासँगै धरानवासीले वर्षौंदेखिको खानेपानी समस्या समाधान हुने आशा गरेका छन्। हर्क साम्पाङको जनताको आवाज बोकेर गरिएको निरन्तर पहल अब सार्थक बन्दैछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *