काठमाडौँ। प्रतिनिधि सभाको आजको बैठक असहमतिका कारण पुनः स्थगित भएको छ। अब बैठक बिहीबार बिहान ११ बजे बस्नेछ।
सभामुखको सचिवालयका अनुसार रास्वपा र राप्रपासँग छलफल गरेर सहमतिमा ल्याउने समय दिनुपर्ने भएकाले बैठक सारिएको हो। यसअघि आधा घण्टाका लागि स्थगन गरिएको बैठक तोकिएको समयमा सुरु हुन नसकेपछि संसद सचिवालयले पुनः साढे ४ बजेका लागि समय तोकेको थियो।
आजको बैठकमा रास्वपाका सांसदहरू निलो रिबन बाँधेर उपस्थित भएपछि नेपाली कांग्रेसले आपत्ति जनाएको थियो। कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले संसदको मर्यादा उल्लंघन भएको भन्दै रास्वपालाई कारबाही गर्न सभामुखलाई आग्रह गरेका थिए।
कांग्रेसको आपत्तिपछि सभामुखले ३० मिनेटका लागि बैठक स्थगन गरे पनि सहमति नजुटेपछि बैठक सञ्चालन हुन सकेन।




