देश

अलबिदा’ लेखेर बेपत्ता डा. श्रेष्ठ : सरुवा विवादपछि तनाव,खोजी कार्य तीव्र

काठमाडौं । ‘अलबिदा’ भन्दै फेसबुकमा मार्मिक सन्देश लेखेर सम्पर्कविहीन भएका डा। केशव श्रेष्ठको खोजी कार्य तीव्र बनाइएको छ। रामेछाप जिल्ला अस्पतालका पूर्वप्रमुख डा. श्रेष्ठ हेटौंडा सरुवा भएपछि उत्पन्न विवाद, मानसिक तनाव र व्यक्तिगत प्रतिशोधका आरोपसँगै गम्भीर मनोदशामा पुगेको खुलासा भएको छ।

करीब २५ महिनाको सेवाकालमा १८ महिना अस्पताल प्रमुखका रूपमा कार्यरत डा। श्रेष्ठको सरुवा गत जेठ मसान्तमा बागमती प्रदेश स्वास्थ्य मन्त्रालय, हेटौंडा गरिएको थियो। तर, उनले आफूविरुद्ध षड्यन्त्र र झुटा आरोप लगाइ आर्थिक र राजनीतिक चलखेलमार्फत सरुवा गरिएको दाबी गरेका छन्। फेसबुकमार्फत उनले लेखेका छन्, “सुधारको प्रयासमा लाग्दा केही कर्मचारी र स्थानीय नेताहरूको आँखामा चिर्को परेँ। अस्पताललाई निजी सम्पत्ति ठान्नेहरूलाई मेरो काम मन परेन।”

श्रेष्ठका अनुसार, रामेछापका एक स्थानीय नेताले व्यक्तिगत स्वार्थ पूरा नभएको भन्दै कार्यालयमै आएर धम्की दिएका थिए। ूती नेताले भनेका थिए— ु३ दिनमा तेरो सरुवा नगराएँ भने मेरो नाम केदार होइनु,ू श्रेष्ठले दाबी गरेका छन्।उक्त विवादको छानबिन चलिरहेको अवस्थामा नै उनलाई स्वास्थ्य मन्त्रालयले २४ घण्टाभित्र हाजिर हुन निर्देशन दिएको थियो। उनले यसलाई अन्यायपूर्ण भन्दै प्रश्न गरेका छन्।

हेटौंडा पुगेपछि स्वास्थ्य मन्त्रालयका एक प्रशासकीय अधिकृतले स्पष्ट जानकारी नदिई पुनः रामेछाप फर्कन आदेश दिएको डा। श्रेष्ठको गुनासो छ। “१६ वटा टाँका लागेको शरीर, सानो छोरी र श्रीमती लिएर राति काठमाडौं आउनुपर्‍यो,” उनले उल्लेख गरेका छन्। अत्यधिक तनावमा पुगेका श्रेष्ठले आत्महत्या प्रयास समेत गरेको फेसबुक सन्देशमा खुलासा गरेका छन्। “नेपालमै केही गर्छु भन्ने सपना थियो, तर अब पश्चाताप मात्रै बाँकी छ,” उनले लेखेका छन्। श्रेष्ठ सम्पर्कविहीन भएपछि उनका परिवार र सहकर्मीहरू चिन्तित छन्। घटनापछि प्रहरी प्रशासनले उनको खोजी तीव्र बनाएको जनाएको छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *