देश

यातायात कार्यालय चितवनमा अख्तियारको छापा : नगदसहित कर्मचारी र बिचौलिया पक्राउ

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा भ्रष्टाचार भएको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनस्थित यातायात व्यवस्था कार्यालयमा छापा मारेको छ। छापाको क्रममा नगदसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कार्यालय सहयोगी इन्द्रजित गुरुङ र बिचौलिया सुरज पाठक छन्। गुरुङको कार्यकक्षबाट १ लाख ८५ हजार रुपैयाँ नगद बरामद गरिएको छ। दुबैजनालाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।

सूचनाअनुसार सवारी लाइसेन्सको परीक्षा फेल भएका व्यक्तिहरूलाई १५–२५ हजार रुपैयाँ लिएर पास गराइँदै आएको थियो। यसमा कार्यालयका कर्मचारी र ड्राइभिङ सेन्टरहरू समेत संलग्न रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। अख्तियारको टोलीले ३१ थान मोबाइल,२ थान ल्यापटप,महत्त्वपूर्ण कागजातहरू ,२२ कर्मचारी र ड्राइभिङ सेन्टर सञ्चालकहरूको विवरण बरामद गरेको छ ।

..
अख्तियारका अनुसार महालक्ष्मी, गुरुङ, र कुमार ड्राइभिङ सेन्टरले कार्यालय कर्मचारीहरूसँग मिलेर फेल भएका परीक्षार्थीबाट रकम लिई पास गराउने धन्दा चलाउँदै आएका थिए। लाइसेन्स परीक्षामा व्यापक भ्रष्टाचार भएको देखिएपछि अख्तियारको छापा पर्‍यो। पक्राउ परेकासँगै थप कर्मचारी र ड्राइभिङ सेन्टर सञ्चालकमाथि अनुसन्धान तीव्र पारिएको छ, जसले यो प्रकरण अझ गहिरो रुपमा उधिनिने संकेत गर्छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *