
काठमाडौँ। नेपालमा यस वर्षको मनसुन सरदरभन्दा १५ दिनअघि, जेठ १५ गते कोशी प्रदेश हुँदै भित्रिएको थियो। तर, हाल पूर्वी एसियामा बनेको बलियो न्यूनचापीय क्षेत्रका कारण मनसुनी वायु पुनः त्यतै फर्किएको छ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् गोविन्द झाले भन्नुभयो, “फिलिपिन्स क्षेत्रतर्फ बनेको न्यूनचापीय क्षेत्रका कारण मनसुन कोशीबाट अन्यत्र फैलिन पाएन। हाललाई देशभर मनसुन विस्तारको सम्भावना देखिँदैन।”
मनसुन भित्रिएपछि जेठ १७ गते पूर्वी नेपालमा व्यापक वर्षा र बाढी भएको थियो। धरान–धनकुटा सडकखण्डको साँगुरीगढी गाउँपालिका–६ स्थित फेदीमा लेउती खोलाको बाढीले करिब १०० मिटर सडक बगाएको थियो। झापामा माइ खोलाको बाढीले २२ घर डुबानमा परेका थिए। तर त्यसयता वर्षा देखिएको छैन।
पश्चिमी वायु सक्रिय, मनसुनलाई अवरोध
मौसमविद् झाका अनुसार पश्चिम तथा मध्यक्षेत्रमा हाल पश्चिमी वायु बलियो रूपमा सक्रिय रहेकाले मनसुन फैलन सकेको छैन। नेपालमा सामान्यतः बङ्गालको खाडीबाट जलवाष्पयुक्त मनसुनी वायु प्रवेश गर्छ, तर हाल त्यो प्रणाली कमजोर भएको छ।
झाका अनुसार यसरी मनसुन ‘ब्रेक’ हुनु राम्रो सङ्केत होइन। यसले कतै अत्यधिक वर्षा र कतै खडेरीको अवस्था सिर्जना गर्न सक्छ।
भोलिदेखि केही सुधार हुने अनुमान
तर, भोलिदेखि नेपालका केही भागमा फेरि बदली सुरु हुने मौसमविद् झाको भनाइ छ। बङ्गालको खाडी र भारतको मध्य भूभागमा फेरि न्यूनचापीय क्षेत्र विकास भइरहेको छ, जसको असर नेपालमा पनि देखिनेछ।
जल तथा मौसम विज्ञान विभागले यस वर्ष अधिक वर्षा र उच्च तापक्रमको सम्भावना रहेको पूर्वानुमान गरिसकेको छ। सोही अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आपतकालीन योजना लागू गरिसकेको छ।
प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार करिब २० लाख मानिस प्रभावित हुन सक्ने र तीमध्ये १० प्रतिशतलाई राहत तथा उद्धार आवश्यक पर्न सक्ने अनुमानसहित तयारी थालिएको छ।