रिबन

युक्रेनको अपरेशन ‘स्पाइडर वेब’ ले रूस ‘सरप्राइज’, कसरी भयो आक्रमण ?

काठमाडौँ । युक्रेनले हालै रुसको एयरबेसमा गरेको आक्रमणलाई अहिलेसम्मकै अभूतपूर्व आक्रमण भनिएको छ ।

जुन १ मा, १०० भन्दा बढी युक्रेनी ड्रोनहरूले आणविक हतियार बोक्न सक्षम लामो दूरीको बमवर्षक विमानहरूलाई लक्षित गर्दै रूस भित्रका वायुसेना अड्डाहरूमा आक्रमण गरे । अपरेशनलाई ‘स्पाइडर वेब’ नाम दिइएको थियो । जब रूसका धेरै भागहरूबाट विस्फोटका रिपोर्टहरू आउन थाले, यसले रुसलाई ‘सरप्राइज’ गर्यो । यी आक्रमण युक्रेनबाट ८ हजार किलोमिटर टाढासम्म गरिएका थिए ।

रूसी रक्षा मन्त्रालयले यी आक्रमणहरू उनीहरूको देशका पाँच क्षेत्रहरू- मुर्मान्स्क, इर्कुत्स्क, इभानोभो, रियाजान र अमुरमा भएको पुष्टि गरेको छ तर मुर्मान्स्क र इर्कुत्स्कमा मात्र विमानहरू क्षतिग्रस्त भएको र अन्यत्रका आक्रमणहरू विफल पारिएको दाबी गरेको छ ।

युक्रेनको सैन्य गुप्तचर एजेन्सीले दिएको जानकारी अनुसार, ड्रोनहरू काठका क्याबिनहरूमा लुकाइएको थियो र ट्रकहरूको मद्दतले रूसमा ढुवानी गरिएको थियो । यी क्याबिनहरू टाढाबाट सञ्चालित छानामुनि लुकाइएको थियो । यी ट्रकहरूलाई विमानस्थलहरूमा लगिएको थियो, जसका चालकहरूलाई ट्रकहरूमा राखिएका सामानहरूको वास्तविकताको बारेमा कुनै जानकारी थिएन । त्यहाँ पुगेपछि, ड्रोनहरू प्रक्षेपण गरिएको थियो र लक्ष्यतिर पठाइएको थियो ।

अनलाइन भिडियोमा, ट्रकबाट ड्रोन निस्किरहेको देख्न सकिन्छ । एक ट्रक चालकले रूसी राज्य मिडिया रिया नोवोस्तीलाई भने अनुसार उनी र अन्य चालकहरूले ढुङ्गा हानेर ड्रोनलाई उडानबाट रोक्न खोजेका थिए ।

रूसी टेलिग्राम च्यानल ‘बाजा’ बाट अपुष्ट रिपोर्टहरू अनुसार, धेरै ट्रक चालकहरूले उनीहरूलाई रूसका विभिन्न स्थानहरूमा काठका क्याबिनहरू पुर्‍याउन व्यवसायीहरूले बुक गरेको बताएका छन् । केही चालकहरूले पछि फोनमा ट्रक कहाँ पार्क गर्ने भन्ने बारे निर्देशन प्राप्त गरेको बताए । जब उनीहरूले ट्रक पार्क गरे, त्यसपछि ड्रोनहरू बाहिर निस्किरहेको देखेर छक्क परेका थिए । अपरेशनको निरीक्षण गरिरहेका युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले साहसी आक्रमणमा ११७ ड्रोनहरू प्रयोग गरिएको र जसको तयारी गर्न १६ महिना ६ दिन लागेको बताएका छन् । उनले एउटा लक्ष्य रूसी सुरक्षा सेवा कार्यालयको छेउमा भएको समेत बताएका छन् ।

रूसले आक्रमणको सम्बन्धमा केही मानिसहरूलाई हिरासतमा लिइएको बताएको छ, तर जेलेन्स्कीका अनुसार, अपरेशनमा मद्दत गर्नेहरूलाई ‘रूसी क्षेत्रबाट हटाइएको र अब उनीहरु सुरक्षित रहेको बताएका छन् ।

युक्रेनको सुरक्षा सेवा कार्यालयले साझा गरेका तस्बिरहरूमा काठको क्याबिनमा भण्डारण गरिएका दर्जनौं कालो ड्रोनहरू देखिएका छन्, जुन रूसी सैन्य ब्लगरहरूले चेल्याबिन्स्कमा रहेको गोदामको रूपमा पहिचान गरेका छन् ।

रुसमा गरिएको यो आक्रमणमा प्रयोग गरिएका ड्रोनहरू सामान्य क्वाडकोप्टरहरू थिए जसले भारी विस्फोटक पदार्थ बोक्न सक्थे । आक्रमणलाई असाधारण बनाउने कुरा यी ड्रोनहरू रूसमा तस्करी गरिएको र त्यसपछि उपग्रह वा इन्टरनेट लिङ्कहरू मार्फत टाढाबाट सञ्चालन गरिएको, भएको बताइएको छ ।

जेलेन्स्कीले ११७ ड्रोनहरू मध्ये प्रत्येकको आफ्नै पाइलट भएको दाबी गरेका छन् । युक्रेनले ड्रोनहरू कहाँबाट पाएको भनेर बताएन, तर युद्ध सुरु भएदेखि नै यसले ड्रोन निर्माणमा ठूलो प्रगति गरेको छ र सम्भवत यी ड्रोनहरू युक्रेन आफैले बनाएको हुनसक्ने भनिएको छ ।

युक्रेनका अनुसार, ४१ रणनीतिक बमवर्षकहरूलाई लक्षित गरिएको थियो र ‘कम्तिमा’ १३ नष्ट गरिएको छ । रुसले केही विमानहरू क्षतिग्रस्त भएको स्वीकार गरेको छ।

क्यापेला स्पेसद्वारा साझा गरिएको रडार उपग्रह छविहरूले बेलाया एयरबेसमा कम्तिमा चार रूसी बमवर्षकहरू गम्भीर रूपमा क्षतिग्रस्त वा नष्ट भएको देखाउँछन् ।

रूससँग कति ए-५० छन् भन्ने थाहा छैन, तर फेब्रुअरी २०२४ मा युक्रेनी सैन्य गुप्तचर प्रमुख किरिलो बुडानोभले यो संख्या आठ रहेको बताएका थिए । त्यसैले पनि यो क्षति रूसको लागि ठूलो धक्का भएको मानिएको छ ।

युक्रेनले यो अपरेशन ‘स्पाइडर वेब’ ले रूसलाई ७ अर्ब डलरको क्षति पुर्‍याएको दाबि गरेको छ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *