देश

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

काठमाडौँ। सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछन्। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे, राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे तय गरिएको छ।

प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव वक्तव्यसहित पेश गर्ने कार्यसूची छ। सो प्रस्तावमाथि छलफल हुने सम्भावना छ।

त्यसैगरी, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ प्रस्तुत गर्ने कार्यक्रम छ।

राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘भन्सार विधेयक, २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ मा प्रतिनिधिसभाबाट प्राप्त संशोधनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव तथा संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव पनि पेश गर्ने कार्यसूचीमा छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *