नेपालको इतिहासमा जेठ १५ कुनै सामान्य दिन होइन—यो जनताको चेतना, संघर्ष र बलिदानबाट प्राप्त एउटा युगान्तकारी मोड हो, जुन दिन देशमा औपचारिक रूपमा राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना भयो। यही दिन, नेपाली जनताले “प्रजा” हैन, सर्वोच्च नागरिकको हैसियत प्राप्त गरे।
गणतन्त्र कुनै दलको स्वार्थ वा वैचारिक मोहको उपज होइन्। यो नेपाली जनताको साझा सपना थियो—जहाँ जनताले आफैंले चुनेका जनप्रतिनिधिहरूबाट शासन हुने व्यवस्था स्थापित होस्, संविधान आफैंले बनाउने अधिकार होस्, र आफ्नो भाग्य आफैंले लेख्न सकून्। यसको जग २०६२र६३ को जनआन्दोलन, त्यसअघिका दशकौँको लोकतान्त्रिक संघर्ष र हजारौँ नागरिकको बलिदानीपूर्ण सघर्षमा आधारित आन्दोलन ।
आज गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा हुँदैछ, कतिपय समूहहरूले फेरि राजतन्त्र पुनःस्थापनाको नारा बोकेर सडक तताउन थालेका छन्। यी आवाजहरू कतै परिवर्तनप्रति निराशा, कतै भावनात्मक दोहन, कतै राजनीतिक अस्तित्वको संकटसँग गाँसिएका छन्। तर, यथार्थ यही हो—राजतन्त्रको विकल्पमा गणतन्त्र आएको हो, गणतन्त्रको असफलतामा राजतन्त्र फर्काउने कुनै नैतिक र राजनीतिक औचित्य आजको सभ्य समाजले कल्पना गर्न सक्दैन् ।
हो, गणतन्त्रले अपेक्षाअनुसार न्याय, सुशासन र समृद्धिमा जुन काम गर्नुपर्ने हो ,त्यती गर्न सकेको छैन् । तर त्यसको दोष प्रणालीभन्दा कार्यन्वयनको कमजोरीमा खोजिनु पर्छ। आजको असन्तुष्टि सुधारको माग हो, व्यवस्थाको उन्मूलनको होइन। लोकतन्त्रका मूल्यमान्यता अनुसार निर्णय गर्ने, कार्यान्वयनमा शुदृढीकरण गरेर संविधानलाई गतिशिल बनाउने हो । गणतन्त्रको आत्मा यही लचिलोपनमा छ—निरंकुश राजतन्त्रको जस्तो प्रश्नमाथिको प्रतिबन्धमा होइन।
यस सन्दर्भमा, गणतन्त्र दिवस कुनै उत्सव मात्र होइन—सजगताको घडी हो। यो दिन हामीलाई सम्झाउने दिन हो कि गणतन्त्र हामीले पाएका होइनौं, सघर्षबाट आर्जन गरेका हौं। त्यसैले यसको रक्षा हामी सबै नागरिकको संविधानिक, नैतिक र ऐतिहासिक उत्तरदायित्व हो।
राजावादी आन्दोलनप्रति जनस्तरबाटै विवेकपूर्ण र लोकतान्त्रिक प्रतिकार आवश्यक छ। सडकदेखि सदन, सामाजिक सञ्जालदेखि शिक्षालयसम्म, गणतन्त्रप्रति प्रतिबद्ध नागरिकको आवाज बुलन्द हुनुपर्छ।
गणतन्त्रको विकल्प फेरि निरंकुशता होइन, सुधार हो । यदि हामीले गणतन्त्रको मर्म बिर्सियौँ भने, त्यो इतिहासप्रति धोका र भविष्यप्रति अपराध हुनेछ। आजको दिन, हामीले गर्वका साथ भन्न सक्नुपर्छ— “यो देश जनताको हो, जनताले बनाएको हो, र जनताले नै चलाउने हो।”




