काठमाडौं । मधेश प्रदेश सरकारमा सहभागी जनमत पार्टीले आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको छ। पार्टीले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिलअलि मिया र वन तथा वातावरण मन्त्री त्रिभुवन साहलाई फिर्ता गर्ने निर्णय गरेको हो।
पार्टीका केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवले मन्त्रीहरूको एक वर्षे कार्यकालको मूल्याङ्कनपछि फिर्ता बोलाउने निर्णय भएको जानकारी दिए। उनीहरूलाई फिर्ता बोलाएर वसन्त कुशवाहालाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय र सञ्जय यादवलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको उनको भनाइ छ।
डा. यादवले भने, “पार्टीले सरकारमा पठाएका प्रतिनिधिको कार्यशैली, जनतासँगको उत्तरदायित्व र नीतिगत सक्रियतालगायत पक्षलाई समेटेर मूल्याङ्कन गरेको हो। मूल्याङ्कनको आधारमा फेरबदल गर्ने निर्णय भएको हो।”
मधेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले भने यसबारेमा आफूलाई कुनै आधिकारिक जानकारी प्राप्त नभएको प्रतिक्रिया दिए।




