काठमाडौं । केही दिनअघि चलचित्र विकास बोर्डले आयोजना गरेको कार्यक्रममा एमाले सांसद गोकुल बासकोटाले प्रधानमन्त्री केपी ओलीको निकै तारिफ गरेका थिए । आफूलाई सञ्चारमन्त्रीबाट राजीनामा दिन लगाएको भन्दै बासकोटा ओलीसँग रुष्ट थिए । त्यसमाथि गोकुलले पछिल्लो समय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको नेतृत्वमा आउनुपर्छ भनेर लबिइङ गर्न थालेपछि ओली निकै रिसाएका थिए ।
तर नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधि खरिद प्रकरणमा पूर्वसञ्चारमन्त्रीसमेत रहेका एमाले नेता गोकुल फस्ने भएपछि प्रधानमन्त्री ओलीले अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईलाई भनेर उनलाई जोगाइदिएका छन् । आफूलाई टेरामक्स प्रकरणमा जोगाइदिएकैले गोकुलले ओलीको प्रशंसै प्रशंसा गरेको अख्तियारले गोकुललाई उन्मुक्ति दिँदै कांग्रेस नेता एवम सांसद मोहनबहादुर बस्नेतलगायत १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएपछि खुलेको छ ।
तत्कालीन सञ्चारमन्त्री बस्नेतले कल बाइपास रोक्नका लागि टेरामक्स प्रविधि जडानको नीतिगत निर्णय गरेका थिए । त्यसमा उनले एक रुपैयाँ पनि अनियतिता गरेका छैनन् । टेरामक्स प्रकरणमा टेन्डर प्रक्रिया भुक्तानी दिने काम सबै गोकुल बासकोटा सञ्चारमन्त्री हुँदा भएको थियो । तथ्यले नै त्यसलाई पुष्टि गरिसकेको छ । तर अख्तियार प्रमुख आयुक्त राई नुनको सोझो गर्दै एमालेलाई बचाउने, कांग्रेसलाई फसाउने मिसनमा केन्द्रित भएका छन् ।
भ्रष्टाचार अनुसन्धान गर्ने संवैधानिक निकाय अख्तियारले टेरामक्स प्रकरणमा पूर्वमन्त्री बास्कोटाविरुद्ध अनुसन्धान नै अघि नबढाएपछि सत्ता गठबन्धनकै निरन्तरतामा प्रश्न उब्जेको छ । प्रधानमन्त्री केपी ओलीको चाहनाअनुसार खोजीखोजी कांग्रेसका नेता र सांसदलाई फसाउने र आफ्नालाई संरक्षण गर्न अख्तियार लागिपरेको आमजनताले महसुस गर्न थालेका छन् ।
कांग्रेसले सरकारलाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्न दबाब दिन थालेपछि प्रधानमन्त्री ओलीले कांग्रेसको मुख बन्द गराउन टेरामक्स प्रकरण अघि बढाएको खुल्दै जान थालेको छ । प्रमुख सत्ता साझेदार कांग्रेसको कुरा नसुनेको र सबै ठूल्ठूला नियुक्ति आफूले लिएर बिचौलियाको साँठगाँठमा एमाले लाग्न थालेपछि कांग्रेसले निष्पक्ष र पारदर्शी काम गर्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण पटक–पटक गराएको छ । आफ्नो आलोचना गरेको भन्दै ओलीले त्यसको बदला लिन अख्तियार प्रमुख राईलाई हातमा लिएर दूरसञ्चार प्राधिकरणका केही कर्मचारीहरुलाई बोलाएर क–कसलाई मुद्दा चलाउने भनी योजनाबद्ध रुपमा काम गरेको स्रोतको दाबी छ ।
२०७५ सालमा सञ्चारमन्त्री रहेका बेला बास्कोटाले दूरसञ्चार प्राधिकरणलाई २५ करोडको मागमा ७० करोड रुपैयाँ बजेट स्वीकृत गरेर टेरामक्स प्रविधि खरिद प्रक्रिया अघि बढाएका थिए । यसमा बास्कोटाको संलग्नता पूर्णरुपमा देखिन्छ । तर टेरामक्स प्रकरणमा कांग्रेस सांसद बस्नेतसहित १६ जनामाथि विशेष अदालतमा मुद्दा दर्ता गरियो । बास्कोटाको नाम अदालतमा दायर गरेको पत्रमा अख्तियारले छुटाएको छ ।
अख्तियारले दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, पुरुषोतम खनाल लगायत केही कर्मचारीहरु र टेरामक्ससँग जोडिएका अन्य कम्पनीहरुमाथि अनुसन्धान बढाएको छ । अख्तियारले उनीहरूबाट राज्यलाई करिब तीन अर्ब २१ करोड रुपैयाँ बराबरको आर्थिक क्षति पुगेको दाबी गरेको छ । पूर्वसञ्चारमन्त्री बस्नेतले दूरसञ्चार क्षेत्रमा कल बाइपास र राजस्व चुहावट रोक्नका लागि यो प्रणाली आवश्यक भएको भन्दै नीतिगत निर्णय गरेका थिए । उनले संघीय संसदबाटै वार्षिक २५ अर्ब रुपैयाँभन्दा बढी राजस्व चुहावट रोक्न यो प्रणाली आवश्यक रहेकाले आफूले निर्णय गरेको बताउँदै आएका छन् । बस्नेतको राजनीतिक भविष्य सक्न पाए सिन्धुपाल्चोकमा आफू बलियो हुने सोचमा एमाले लगायतका राजनैतिक दल सक्रिय रहेका छन् ।




