देश

हुम्लाको तिलगाउँमा सुक्खा पहिरो : १८ घरपरिवार सुरक्षित स्थानमा स्थान्तरण

काठमाडौं  । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित तिलगाउँमा गएको सुक्खा पहिरोका कारण १८ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ। उत्तरपट्टिबाट अचानक खसेको पहिरोले स्थानीय बासिन्दाको घरमा क्षति पुर्‍याएपछि सशस्त्र प्रहरीको टोली तत्काल उद्धार कार्यमा खटिएको हो।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, उद्धार सामग्री र बन्दोबस्तीका सामानसहित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हिल्साबाट टोली परिचालित गरिएको छ। अहिले प्रभावित परिवारलाई सुरक्षित ठाउँमा सारेर खाद्यान्न र आवासको व्यवस्था मिलाइएको छ।

पहिरोमा पानीको लेदोसमेत मिसिएको देखिएपछि तिलगाउँ माथि रहेको हिमताल फुट्न सक्ने आशंका गरिएको छ। संभावित जोखिमलाई मध्यनजर गर्दै, त्यस क्षेत्रको अध्ययन र निरीक्षणलाई तीव्र पारिएको छ। स्थानीय प्रशासनले थप जोखिम न्यूनिकरणका लागि निरन्तर अनुगमन गरिरहेको जनाएको छ। बर्सेनि पहिरोको त्रासमा बाँचिरहेका तिलगाउँका बासिन्दाहरूले स्थायी समाधानको माग गरेका छन्। प्रत्येक वर्ष यस्तै त्रासमा बाँच्नुपर्छ, हामीलाई स्थायी संरक्षणको आवश्यक छ, स्थानीय एक बासिन्दाले बताए।

प्राकृतिक विपत्तिबाट पिडित भएका गाउँलेहरूको सुरक्षित स्थानान्तरण तथा राहत व्यवस्थापनमा स्थानीय प्रशासन र सुरक्षा निकायले सक्रिय भूमिका खेलिरहेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *