खेलकुद

ऐतिहासिक सफलता : नेपाल महिला क्रिकेट टोली ग्लोबल क्वालिफायरमा प्रवेश

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले इतिहास रच्दै पहिलोपटक आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा स्थान बनाएको छ। सोमबार सम्पन्न सुपर ३ चरणको खेलमा यूएईलाई ५ विकेटले पराजित गर्दै नेपालले यो उपलब्धि हात पारेको हो।

यूएईको ११५ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ३ बलमा ५ विकेट गुमाएर सहजै विजय हासिल गर्‍यो। कप्तान इन्दु बर्माले नटआउट ३४ रनको महत्त्वपूर्ण योगदान दिएकी थिइन् भने पूर्वकप्तान रुबिना क्षेत्रीले पनि उल्लेख्य भूमिका खेलिन्।

त्यसअघि, यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११४ रन बनाएको थियो। यूएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रन जोडिन्। नेपालका लागि मनिषा उपाध्याय बलिङतर्फ उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा मात्र २० रन खर्चेर ४ विकेट लिइन्। त्यसैगरी, कविता कुँवरले २ र राजमती ऐरीले १ विकेट हात पारे।

नेपालको आगामी खेल मंगलबार थाइल्यान्डसँग हुनेछ। यस खेलको नतिजा जस्तो भए पनि नेपालको ग्लोबल क्वालिफायर यात्रा भने सुनिश्चित भइसकेको छ। यो ऐतिहासिक उपलब्धिले नेपाली महिला क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पुर्याएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *