
काठमाडौं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सांसद विष्णु पन्थीले व्यापारिक लेनदेनसम्बन्धी मुद्दामा मोरङ जिल्ला अदालतमा बिगो रकम धरौटीमा बुझाएपछि उनलाई पक्राउ नगर्न अदालतले काठमाडौं प्रहरीलाई निर्देशन दिएको छ।
२०७३ सालमा पल्लवी इलेक्ट्राबाट उधारोमा सामान लिएर १३ लाख ५४ हजार रुपैयाँ बाँकी राखेको आरोपमा पन्थी र गौतमबुद्ध हाइड्रोपावरका सञ्चालक देवराज खनालविरुद्ध मोरङ अदालतले मुद्दा दर्ता गरेको थियो। अदालतको आदेश कार्यान्वयन नगरेको भन्दै दुवैलाई ६ महिनाको कैद सजाय सुनाइएको थियो।
तर, पछिल्लो समय पन्थी र खनालले अदालतमा धरौटी बुझाएपछि अदालतले पक्राउ पुर्जी अमान्य गर्दै प्रहरीलाई पक्राउ नगर्न पत्राचार गरेको हो। मोरङ अदालतले २०८१ जेठ १२ गते पक्राउको लागि पत्र पठाएको थियो, तर २०८१ जेठ ३२ गतेसम्म पनि उनीहरू पक्राउ परेका थिएनन्।
पन्थी एमालेको केन्द्रीय लेखा आयोगका उपाध्यक्षसमेत हुन्। अब धरौटी बुझाइसकेपछि कानुनी कारबाहीको प्रक्रियाले नयाँ मोड लिएको छ। अदालतले भने रकम बुझाइएको प्रमाणका आधारमा दुवैजनामाथि तत्काल पक्राउ आवश्यक नरहेको ठहर गरेको छ।