रिबन

ओलीको बेफिक्रीमा लगाम लगाउन नसकेको कांग्रेस

संसदकै सबैभन्दा ठूलो दल नेपाली कांग्रेस अहिले सत्ता साझेदार दल हो । ठूलो दल भए पनि कांग्रेस एमालेको अन्डरमा रहेर सरकारमा बसेको छ । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री छन् । ओलीको प्रवृत्ति नबुझेका कांग्रेसमा सायदै कोही होला । तर पनि कांग्रेस सभापति शेरबहादुर देउवाले ओलीलाई पूर्ण रूपमा विश्वास गरेका छन् । देउवाकै विश्वासको फाइदा उठाउँदै ओलीले कांग्रेसको प्रतिष्ठा र गरिमामाथि निर्मम ढंगले प्रहार गरिरहेका छन् ।

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा हलो अड्काएर गोरु चुट्ने काम ओलीले गरिरहेकोमा दुई मत छैन । तर पनि कांग्रेस नेतृत्व यसमा कडा ढंगले प्रस्तुत हुन नसकेको नेता कार्यकर्ता समर्थकको बुझाइ छ । कांग्रेस सभापति देउवा थाइल्यान्डबाट फर्केलगत्तै प्रधानमन्त्री ओलीसँग भएको भेटमा गभर्नर नियुक्तिको विषय सोध्दा एक सातामै हुने जवाफ पाएका थिए । तर देउवा फर्केको दुई साता बित्दा पनि ओलीले गभर्नर नियुक्ति यसरी गिजोलेका छन् कि सबै अपजसको भारी कांग्रेसले बोकोस् भन्ने उनको भित्री मनसाय रहेको बुझ्न कठिनाइ छैन ।

राष्ट्र बैंकको डेपुटी गभर्नर भनेको फस्ट क्लास अफिसर हो । तर तिनै कामु गभर्नर निलम ढुंगानाले फनफनी घुमाउँदा पनि कांग्रेस लाचार बनेर बस्नुको विकल्प देखिएको छैन । सुरुमा राष्ट्र बैंककै कार्यकारी निर्देशक डा।गुणाकर भट्टलाई गभर्नर बनाउने भनी ओलीले देउवासँग सहमति गरे । भट्टलाई पदबाट राजीनामा दिन लगाइयो । तर भट्टको राजीनामा स्वीकृति गर्न लगाइएन । एउटा फस्ट क्लास अफिसरलाई बोलाएर राजीनामा स्वीकृत गर्न कांग्रेसले लगाउन नसक्नुमा ओलीको ‘ब्याकअप’ बुझेर हो ।

भट्टलाई अलोकप्रिय बनाइसकेपछि अर्थविद् डा.विश्व पौडेललाई गर्भनरमा अघि सारियो । पौडेललाई पनि सिफारिस समिति सदस्यबाट राजीनामा दिन लगाइयो । अहिले तिनै पौडेल गभर्नर बन्न अयोग्य भनी सर्वोच्च अदालतमा रिट निवेदन हाल्न लगाइएको छ । यसरी एकपछि अर्को कांग्रेसका इमान्दार व्यक्तिलाई खुइल्याउने मिसनमा प्रधानमन्त्री ओली देखिए पनि त्यसको सशक्त प्रतिवाद कांग्रेस नेतृत्वले गर्न सकेको छैन । प्रधानमन्त्री ओलीले खुलेरै सरकारले बेहोरेको अपजसको भारी कांग्रेसले पनि बोक्नुपर्छ भन्नुको अर्थ कांग्रेसप्रति उनको दृष्टिकोण कस्तो रहेछ भन्ने सजिलै बुझ्न सकिन्छ ।

कांग्रेस सभापति देउवा कमै बोल्ने नेतामा पर्छन् । यो उनको विशेषता नै हो । देउवाको यही कमजोरीको फाइदा अहिले एमालेले उठाइरहेको छ । त्यसमाथि कांग्रेसका युवा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा केही सातायता काठमाडौंमा नरहनुले पनि ओलीलाई खेल्ने मौका मिलेको छ । साँच्चै भन्ने हो भने एमालेले अर्थ मन्त्रालयअन्तर्गतको गभर्नर कांग्रेसलाई दिनै चाहेको छैन । त्यसैले पनि अहिलेको अवस्था निम्तिएको हो । ठूल्ठूला राजनीतिक नियुक्ति जति सबै आफैं लिने, कांग्रेसलाई भने छाडेको दिने ओली नीति देख्न सकिन्छ । कडा ढंगले प्रस्तुत हुँदा कतै अहिलेको गठबन्धन भत्काएर माओवादीसँग मिलेर सरकार बनाउने मनोवैज्ञानिक त्रास कांग्रेसमाथि पार्न ओली सफल देखिँदै गएका छन् । माधव नेपाललाई ललिता निवास र पतञ्जली योगपीठलाई दिएको जग्गाबारे अख्तियार लगाएर गलाउने रणनीति ओलीले लिएका छन् ।

कांग्रेस रिसाएर हिँडे प्रचण्डलाई फकाएर गठबन्धन गर्ने र ०८४ को निर्वाचन आफैं गराउने ओलीको भित्री चाहना छ । तर पनि कांग्रेसले ओलीको बेफिक्रीमा लगाम लगाउन सकेको देखिन्न । कांग्रेसलाई झुलाएर आगामी आर्थिक वर्षको बजेट ल्याउने र बजेट पास गरेपछि मात्रै कांग्रेसले भनेको गभर्नर नियुक्ति गर्ने रणनीतिमा प्रधानमन्त्री ओली निकै अघि बढेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *