
काठमाडौं । भगवान् बुद्धको २५६९औं जयन्तीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार बौद्ध स्तूपमा विश्व शान्तिको कामना गर्दै परेवा उडाएका छन्। शान्तिका प्रतीक परेवा उडाउँदै उनले विश्वभर शान्ति, सहिष्णुता, र सद्भाव फैलियोस् भन्ने कामना गरेका हुन्।
बुद्धजयन्तीको अवसरमा सोमबार बिहानैदेखि बौद्ध स्तूपमा भक्तजनहरूको उल्लेख्य भीड देखियो। विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध परिसरमा विशेष पूजा, दीप प्रज्वलन, र सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएको छ। भिक्षुहरूद्वारा मन्त्रपाठ र ध्यान कार्यक्रमले वातावरणलाई आध्यात्मिक बनाएको थियो।
बुद्धजयन्तीको अवसरमा स्वयम्भूनाथमा समेत भक्तजनहरूको घुइँचो लागेको छ। बिहानैदेखि पूजाआजा, दीप प्रज्वलन, र धार्मिक प्रवचनहरू सञ्चालन भएका छन्। बौद्धमार्गीहरूले बुद्धका शिक्षालाई सम्झँदै शान्ति र अहिंसाको मार्गमा अघि बढ्ने संकल्प गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले बुद्धका शिक्षालाई विश्वभर फैलाउनुपर्नेमा जोड दिए। उनले भने, बुद्धको शान्ति र अहिंसाको सन्देशले मात्र विश्वमा स्थायीत्व र समृद्धि सम्भव छ।ू परेवा उडाउँदै उनले विश्वमा युद्ध र हिंसा अन्त्य भएर शान्तिको विजय होस् भन्ने प्रार्थना गरे।
बुद्धजयन्तीका अवसरमा काठमाडौं उपत्यकाका प्रमुख बौद्ध तीर्थस्थलहरूमा आन्तरिक तथा बाह्य पर्यटकहरूको उपस्थिति उल्लेख्य देखिएको छ। पर्यटन मन्त्रालयले धार्मिक पर्यटन प्रवर्द्धन गर्दै बुद्ध जन्मस्थल लुम्बिनीदेखि काठमाडौंका बौद्धस्थलसम्म पर्यटक आकर्षित गर्ने योजना अघि सारेको छ। शान्ति, अहिंसा र सहिष्णुताको प्रतीकको रूपमा चिनिने बुद्धका शिक्षालाई आत्मसात गर्दै देश र विश्वमा शान्ति स्थापनाको कामना गर्दै यो पर्व मनाइएको छ।