देश

लुम्बिनीमा भव्य बुद्ध जयन्ती समारोह : प्रधानमन्त्रीद्वारा उद्घाटन, अन्तर्राष्ट्रिय सहभागिता

काठमाडौं । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा २५६९औं बुद्ध जयन्ती समारोह भव्य रूपमा सुरु भएको छ। अन्तर्राष्ट्रिय बुद्धिस्ट सभा हलमा आयोजित समारोहको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन्।

समारोहमा नेपालका शीर्ष नेतृत्वसहित विभिन्न देशका राजदूत, भिक्षु, भिक्षुणी, उपासक, संघीय तथा प्रदेश सांसद, र सर्वसाधारणहरूको उल्लेख्य उपस्थिति रहेको थियो। बिहानै मायादेवी मन्दिर परिसरबाट सुरु भएको शोभायात्राले लुम्बिनीको वातावरणलाई भक्तिमय बनायो। शोभायात्रामा परम्परागत बाजागाजा, सांस्कृतिक झाँकी र बुद्धका उपदेशहरूका पंक्ति समेटिएका थिए।

बुद्ध जयन्तीका अवसरमा कपिलवस्तुको तिलौराकोट, रुपन्देहीको देवदह, र पश्चिम नवलपरासीको रामग्राममा विशेष कार्यक्रमहरू आयोजना गरिने लुम्बिनी विकास कोषले जनाएको छ। मंगलबारसम्म चल्ने यी कार्यक्रमहरूले बुद्धका आदर्श र शिक्षालाई पुनः स्मरण गराउने उद्देश्य राखिएको छ।

लुम्बिनी विकास कोषले बुद्ध जयन्तीको कार्यक्रम व्यवस्थापन र सजावटका लागि एक करोड रुपैयाँको बजेट छुट्याएको छ। लुम्बिनी क्षेत्रको सरसफाइ, मायादेवी मन्दिरको विशेष सजावट र अन्तर्राष्ट्रिय पाहुनाहरूको स्वागतका लागि सो रकम खर्च गरिएको कोषले जनाएको छ।

प्रधानमन्त्रीको सम्बोधन ः शान्ति र सहिष्णुताको मार्गमा अघि बढ्नुपर्छ

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बुद्धका शान्ति, अहिंसा र सहिष्णुताको शिक्षालाई आत्मसात गर्दै अघि बढ्नुपर्नेमा जोड दिए। उनले लुम्बिनीलाई विश्वकै शान्ति केन्द्रका रूपमा स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताए। समारोहमा श्रीलङ्का, थाइल्याण्ड, म्यानमार, जापानलगायतका बुद्ध धर्मावलम्बीहरूको उपस्थिति रहेको थियो। लुम्बिनीलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको केन्द्र बनाउने उद्देश्यले यस पटक विशेष पहल गरिएको छ। बुद्धको जन्मभूमिमा यसरी आयोजित भव्य समारोहले शान्ति र सहिष्णुताको सन्देश विश्वभर फैलाउने अपेक्षा गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *