रिबन

पाकिस्तानमा मिठाइ बाँडेर युद्धविरामको खुसीयाली

काठमाडौं । भारत र पाकिस्तानबीच लामो समयदेखि जारी सैन्य तनाव र घातक हवाई, मिसाइल, ड्रोन तथा तोप हमलापछि शनिबार पूर्ण र तत्काल युद्धविरामको घोषणासँगै पाकिस्तानमा सर्वसाधारणले मिठाइ बाँडेर खुसीयाली मनाएका छन्।

सडकमा उभिएर एकअर्कालाई मिठाइ खुवाउँदै स्थानीयले शान्तिको सन्देश फैलाएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत युद्धविरामको घोषणा गर्दै दुवै देशलाई “विवेक र बुद्धिमत्तापूर्ण निर्णय” गरेकोमा बधाई दिएका थिए।

“मध्यस्थतापूर्ण वार्तापछि भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएका छन्। दुवै देशलाई बधाई,” ट्रम्पले सामाजिक संजालमा भनेका थिए।

पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले युद्धविराम तत्काल लागू हुने पुष्टि गर्दै भने, “पाकिस्तान सधैं क्षेत्रीय शान्ति र सुरक्षाका लागि प्रतिबद्ध छ, तर आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा सम्झौता गर्दैन।”

भारतका विदेश सचिव विक्रम मिश्रीले पनि युद्धविरामको पुष्टि गर्दै शनिबार दिउँसो ३:३५ बजे पाकिस्तानका सैन्य सञ्चालन महानिर्देशक (डीजीएमओ) ले भारतीय डीजीएमओसँग सम्पर्क गरी साँझ ५ बजेदेखि स्थल, समुद्र र आकाशमा सम्पूर्ण सैन्य कारबाही रोक्ने सहमति भएको जानकारी दिए।

दुवै देशका डीजीएमओबीच मे १२ मा पुनः वार्ता हुने तय भएको छ।

मुल्तानमा उत्सव मनाइरहेका स्थानीयले शान्तिको सन्देश बोकेर सडकमा निस्किएको बताए। “हामी युद्ध होइन, शान्ति चाहन्छौं। यो युद्धविरामले हामीलाई नयाँ आशा दिएको छ,” एक स्थानीयले भने।

साउदी अरब र टर्कीले पनि यो सम्झौतामा मध्यस्थताको भूमिका खेलेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्।

यसअघि, जम्मु र कश्मीरको पहलगाममा अप्रिल २२ मा भएको आतंकवादी हमलामा २६ जनाको मृत्यु भएपछि दुवै देशबीच तनाव चर्किएको थियो।

भारतले ‘अपरेशन सिन्दूर’ मार्फत पाकिस्तान र पाकिस्तान–नियन्त्रित कश्मीरमा कारबाही गरेको दाबी गरेको थियो। जबकि पाकिस्तानले उक्त हमलामा आफ्नो संलग्नता अस्वीकार गर्दै प्रतिशोधमा मिसाइल हमला गरेको थियो।

पाकिस्तानले युद्धविरामपछि आफ्नो हवाई क्षेत्र पूर्ण रूपमा खुला गरेको छ। मुल्तानलगायतका सहरमा सर्वसाधारणले सडकमा नाचगान र विजय चिह्नसहित शान्तिको उत्सव मनाइरहेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *