काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिका अन्तर्गत चुरे क्षेत्रको लामा खोलामा नगरपालिकाकै संलग्नतामा भएको अवैध ढुंगा, गिट्टी र वालुवा उत्खननको भण्डाफोर भएको छ।
अनुमति बिना सार्वजनिक वन र नदी क्षेत्रमा उत्खनन गरिएको खुलेपछि स्थानीयको चर्को विरोध र अनुगमनपछि काम रोकिएको हो। यद्यपि, स्थानीय प्रशासन, नगरप्रहरी र राजनीतिक नेतृत्वको मिलेमतोमा उत्खनन गरिएको पुष्टि भइरहेका छन्।
नगर प्रमुख कालुमान लामाका स्वकीय निरज घिसिङ तामाङको नाममा दर्ता भएको साङ्गे छोयलिङ्ग कन्सट्रक्सन प्रा.लिले निजी जग्गा भनेर वन क्षेत्र र सार्वजनिक जमिनमा समेत उत्खनन गरेको देखिएको छ। उक्त कम्पनीका सञ्चालक लामा मेयरका भतिजसमेत हुन्।
उत्खननको अनुमति नगर कार्यपालिकाको निर्णयमार्फत वैशाख ७ देखि जेठ मसान्तसम्म दिइएको भनिए पनि, त्यसको कानुनी प्रक्रिया, ईआइई (प्रारम्भिक वातावरणीय मूल्याङ्कन), वन कार्यालयको स्वीकृति, र आवश्यक जनसहभागिता बिना काम सुरु गरिएको पाइयो। राजस्व शाखाका प्रमुखले अनुगमन टोलीलाई पूर्ण कागजात प्रस्तुत गर्न नसकेको र अनुमति मात्र देखाएर काम गरिरहेको देखिएको थियो।
चुरे संरक्षण ऐन र वातावरण संरक्षण निर्देशिकाविपरीत, बस्ती नजिक र वन क्षेत्रको सतह खनिएको पाइएको छ। ७५ घरपरिवार बाढीको उच्च जोखिममा परेका छन्। स्थानीयको भनाइमा, कुलो भत्काएर खेतमा पानी रोकिएको, नजिकैको बस्तीमा बाढी पस्ने खतरा सिर्जना भएको छ।
प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय समितिको नेतृत्वमा गरिएको अनुगमनपछि हाल काम रोकिएको छ। तर, झण्डै १२ सय टिपर ढुंगा गिट्टी पहिले नै उत्खनन भई बाहिरिसकेको, राजस्व छली भएको, र चुरे विनाश गरिएको स्थानीयको आरोप छ।
साङ्गे छोयलिङ्ग कन्सट्रक्सन एमाले नेता र मेयरका स्वकीय निरज घिसिङको स्वामित्वमा भए पनि ठेक्काको व्यवस्थापन माओवादी नगर अध्यक्ष दिनेश राईमार्फत भएको सूचना सार्वजनिक भएको छ।
राई स्वयंले पत्रकारसँग व्यवसायिक नाफासँगै स्थानीयका माग पनि समेट्ने उद्देश्य थियो भन्दै व्यवस्थापनमा संलग्नता स्वीकारेका छन्।
वडा नम्बर ७ का वडाध्यक्ष केशव अधिकारीले स्वयमले विवादको अवस्था सिर्जना भएपछि प्रक्रियाविना ठेक्का दिइएको, कार्यपालिका सदस्यलाई जानकारी नदिइएको, र प्रष्ट रुपमा राजस्व छली भएको भन्दै छानबिनको माग गरेका छन्।






