काठमाडौं । बुटवल र कपिलवस्तुका व्यवसायीहरू कर छली र विदेशी विनिमय अपचलनको आरोपमा कानुनी कारबाहीमा तानिएका छन्। आन्तरिक राजस्व कार्यालय बुटवलले भाञ्जा स्टोर्स एण्ड हाउसका सञ्चालक बरकत अली मियाँविरुद्ध कर छलीको आरोपमा तीन करोडभन्दा बढीको राजस्व चुहावट मुद्दा उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा दायर गरेको छ।
कार्यालय प्रमुख विवेक घिमिरेका अनुसार, मियाँले कर नतिरी १ करोड ५५ लाखभन्दा बढी रकम छलेको र सोही बराबरको जरिवाना सहित कुल ३ करोड ११ लाख रुपैयाँ असुल गर्न माग गरिएको छ। यससँगै कानुनी सजाय पनि माग गरिएको छ।
यसैबीच, कपिलवस्तुका चार व्यक्तिविरुद्ध विदेशी विनिमय अपचलनको मुद्दा दायर गरिएको छ। आरोपीहरूमा राजेशकुमार बर्मा, राकेशकुमार बर्मा, हमीद मुसलमान र जंगबहादुर बर्मा रहेका छन्। तिनीहरूबाट बरामद भएको ४२ लाख रुपैयाँ बराबरको भारतीय मुद्रा अबैध रूपमा नेपाल भित्र्याइएको पाइएपछि ३६ लाखभन्दा बढीको बिगो कायम गरी कपिलवस्तु जिल्ला अदालतमा अभियोगपत्र पेश गरिएको हो।
प्रहरीले उनीहरू प्रयोग गरेको भारतीय नम्बर प्लेटको गाडी पनि जफतको मागसहित मुद्दामा समेटिएको जनाएको छ।




