देश

ऋणीको जग्गा लिलामी गर्दै भूमाफियालाई बेच्ने राजेन्द्रकुमारले यसरी डुबाए सिन्धु विकास बैंक

काठमाडौं । नेपाली कांग्रेसमा कस्ता कस्ता चरित्र र पृष्ठभूमि बोकेका मान्छेको हालीमुहाली छ भन्ने उदाहरण सिन्धुपाल्चोक नै काफी छ । सिन्धु कांग्रेसमा मनी र मसलको बाहुल्य रहेको चर्चा पहिलेदेखि नै चलेको हो । अझ राजेन्द्रकुमार श्रेष्ठ जस्ता आपराधिक सोच भएका व्यक्तिले कसरी आफ्नो ठगी साम्राज्य विस्तार गरेका रहेछन् भन्ने धेरैलाई थाहा नहुन सक्छ ।

श्रेष्ठ अहिले कांग्रेस महासमिति सदस्यसमेत हुन् । कांग्रेस, माओवादी हुँदै कांग्रेस भएका श्रेष्ठ छेपारोले रङ फेरेझैं फेर्न माहिर छन् । कुनैबेला भारत हुँदै काठमाडौं ल्याएर चीनमा रक्तचन्दन तस्करी गर्नेमा उनको नाम पहिलो नम्बरमा आउँथ्यो । शक्तिकेन्द्रको नाम भजाएर उनले उन्मुक्ति पाएका थिए । रक्तचन्दन तस्करीकै पैसाको बलमा बनेपास्थित केन्द्रीय कार्यालय रहेको सिन्धु विकास बैंकको अध्यक्ष बनेका उनले त्यहीँबाट सात पुस्तालाई पुग्ने सम्पत्ति जोडेको सिन्धु कांग्रेसका नेताहरू बताउँछन् । क्षेत्रीयस्तरको सिन्धु विकास बैंकमा एउटै व्यक्ति लामो समयदेखि बैंकको सञ्चालक समितिको अध्यक्ष रहेको, कर्जा प्रवाहमा हालीमुहाली गर्दै अनावश्यक हस्तक्षेप गरेको, बैंकभित्र संस्थागत सुशासनको पक्ष पनि कमजोर रहेकाले ऋण असुलीमा निकै ठूलो समस्या रहेको भन्दै उनलाई अध्यक्षबाट हटाइएको थियो ।

आफू बैंकको अध्यक्ष हुँदा उनले जग्गा धितो राखेर ऋणीको जग्गा विभिन्न बहानामा लिलाम गर्दै भूमाफियालाई बेच्ने र खरिदकर्ताको करोडौं रुपैयाँ बैनासमेत पचाइदिने गरेको तथ्य बाहिरिसकेको छ । आफ्नो विरुद्ध समाचार आएपछि तनावमा परेका श्रेष्ठ अहिले यस्ता समाचारले मलाई के नाप्न सक्दैन भन्दै हिँड्न थालेका छन् । रक्तचन्दन तस्करीको पैसाले उनले न्युरोडको खिचापोखरीमा पिपुल्स प्लाजा बनाएको एक व्यवसायीले बताए ।

सिन्धु विकास बैंकको अध्यक्ष हुँदा श्रेष्ठले सवा दुई करोड रुपैयाँ निक्षेप आफ्नो खातामा ल्याएको भेटिएपछि उनलाई पदबाट हटाइएको थियो । नेपाल राष्ट्र बैंकको पाँच लाख जरिवाना तिरिसकेका श्रेष्ठले बैंकले लिलामी गरेको जग्गा आफ्नो भाइ रमेश श्रेष्ठको नाममा नामसारी गर्दै हाल बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्का जस्ता दर्जनौं जग्गा दलाललाई महँगो मूल्यमा बेच्ने गरेको भेटिएको छ ।

त्यस्तै जग्गामध्येको एक हो चितवन देवाली गापा वडा नम्बर २ (हाल रत्नननगर नगरपालिका)मा पर्ने कित्ता नम्बर १७५२ को ०–४–११ र ऐ.ऐ. कित्ता नम्बर ५४३५ को क्षेत्रफल २२८५.८५ वर्गमिटर क्षेत्रफल रहेको जग्गा । कुनै ऋणीको जग्गा उनले भाइको नाममा ल्याएर प्रदेश मन्त्री खड्का निर्देशक रहेको साइसा ल्यान्ड डेभलपर्स एन्ड हाउजिङ कम्पनीलाई बिक्री गरेका थिए । २०७८ फागुन ११ गते खड्काले काठमाडौंका सानुराज फुयाँल र प्रवेशभक्तराज मुलिकलाई १२ करोड रुपैयाँ बेच्ने गरी एक करोड ५० लाख रुपैयाँ बैना लिएका थियो । पछि सोही जग्गा २०८० जेठ १ गते १३ करोड ८६ लाख रुपैयाँमा बिक्री गर्ने भनी बुढानिलकण्ठ नगरपालिका–४ वडा कार्यालयमा समेत कागज गरिएको थियो । तर खड्काले सो जग्गा फुयाँल र मुलिकलाई दिएनन् ।

श्रेष्ठ र खड्काले फुयाँल र मुलिकसँग पटकपटक बैंक भौचर र नगदै गरी करिब साढे सात करोड बुझिसकेका छन् । त्यसमध्ये श्रेष्ठले मात्रै एक करोड ४० लाख बुझेको प्रमाण संकल्पखबरले प्राप्त गरेको छ । श्रेष्ठले फुयाँलसँग एकपटक एक करोड २० लाख र दुईपटक नौ लाख ९० हजार गरी १९ लाख ८० हजार बैना बुझेका छन् । तर उनी अहिले आफूले पैसा नै नलिएको भन्दै पन्छिन खोजेका छन् । संकल्पखबरले यसबारे बुझ्न फोन गर्दा ‘अहिले म मिटिङमा छु’ भन्दै पन्छिए । तर पछि उनले फोनसमेत रिसिभ गरेनन् ।

मन्त्री खडका र श्रेष्ठले मिडियामा आएको समाचारले केही नहुने भन्दै पीडितलाई झन् पीडामा पार्ने गरेका छन् । प्रदेश मन्त्री खड्का र रक्तचन्दन तस्कर श्रेष्ठ मिलेर आफूहरूको बैना रकम नै खाइदिएपछि फुयाँल र मुलिक अहिले विभिन्न ठाउँमा हारगुहार गर्न बाध्य छन् । तर माफियाहरू भने शक्तिको आडमा रहेर आफूमाथि कुनै अनुसन्धान नहुने भन्दै हिँडेका छन् । पीडितमध्येका एक फुयाँलले बैना रकम त गुमाए नै आफूसँग भएको गाडीलगायत अन्य सम्पत्तिसमेत गुमाउने अवस्थामा पुगेका छन् । सम्बन्धित निकायले सो विषयमा गैरकानुनी कार्य गर्नेमाथि अनुसन्धान गरी पीडित परिवारलाई जग्गा दिलाइदिने वा सम्पूर्ण बैना रकमको साँवाब्याजसहित रकम फिर्ता गराइदिनुपर्छ । सहमति पत्रमा समेत सोही कुरा उल्लेख गरिएको छ ।

सिन्धु बिकास बैंकका तत्कालीन अध्यक्ष हुँदा लिलामी गर्ने र बिचौलियामार्फत रकम लिन पल्केका श्रेष्ठले चितवनको टाँडीमा रहेको १६ कट्ठा बनेको एच।एम।के। होटलको जग्गामा समेत लिलामी गराएर आफ्नै भाइका नाममा पास गराएका थिए । पछि सो जग्गा प्रदेश मन्त्री खड्कालाई बेचेका थिए । मालपोत कार्यलयमा ११ कट्ठा उल्लेख गरे पनि सो होटेलले अनाधिकृत रुपमा जग्गा भोगचलन गरिरहेको छ ।

यसरी होटेलले अनधिकृत रुपमा जग्गा प्रयोग गरेर संरचना निर्माण गर्दासमेत सो फिर्ता गराउने विषयमा रत्ननगर नगरपालिका प्रमुख प्रह्लाद सापकोटाले अहिलेसम्म कुनै प्रक्रिया अघि बढाएका छैनन्, स्रोतले भन्यो । सोतका अनुसा सो जग्गाका बारेमा नगर प्रमुखलाई इतिवृत्तान्त थाहा छ । तर यस्तो विषयमा कुनै कारबाही प्रक्रिया अगाडि नबढाउदा रक्तचन्दन तस्कर श्रेष्ठसँग कतै साँठगाँठ त छैन भनेर अहिले रत्ननगर बजारमा चर्चा हुन थालेको छ । रक्तचन्दन र भूमाफिया श्रेष्ठलाई ठगी किर्ते र जालसाजीमा कारबाही गर्नुपर्ने चौतर्फी दबाब परेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *