
महेन्द्रनगर (धनुषा)। पवित्र जानकी जन्मोत्सवको पावन अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा आजदेखि औपचारिक कार्यक्रमहरूको सुरुवात भएको छ।
जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासका अनुसार जन्मोत्सव कार्यक्रम अन्तर्गत आजदेखि प्रत्येक दिन दिउँसो ४ बजे श्रीराम कथा वाचन हुनेछ भने साँझ ७ बजे मन्दिरको गर्भगृहमा जानकी जन्मको बधाई स्वरूप मङ्गलगान तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिनेछन्। यसका साथै, अखण्ड रामायण पाठ पनि नियमित रूपमा जारी रहनेछ।
जन्मोत्सवको मुख्य दिन वैशाख २३ गते, मंगलबार बिहान ५ बजे जानकी माताको शाही स्नान जानकी मन्दिरबाट दूधमती नदीमा लगि सम्पन्न गरिनेछ। त्यसै दिन अपराह्न १२ बजे जन्म आरती तथा बधाई मङ्गलगान, दिउँसो ४ बजे डोला शोभा यात्रा र साँझ ७ बजे विशेष आरतीसहित भव्य दीपोत्सवको आयोजना हुने कार्यक्रम तय भएको छ।
जानकी माताको जन्मदेखि छठिहारसम्म, प्रत्येक दिन साँझ ७ बजे जानकी मन्दिरको गर्भगृहमा विशेष जन्म बधाई गान गाइनेछ। मन्दिर व्यवस्थापन समितिले जनाए अनुसार, यही वैशाख २४ गते जनकपुरधाममा उपासनाका लागि मटकोर कार्यक्रम आयोजना हुनेछ भने वैशाख २५ गते धार्मिक तथा सांस्कृतिक गीतहरू सहित सीताराम विवाह महोत्सव हर्षोल्लासका साथ मनाइनेछ।
उत्तराधिकारी दासले थप जानकारी दिँदै भने, सोही दिन मानस मोहिनी सध्या देवीबाट विशेष रामकथा वाचन कार्यक्रम पनि हुनेछ। जनकपुरधाममा जानकी जन्मोत्सवलाई विशेष रूपमा, धुमधामका साथ मनाउनका लागि व्यापक तयारी गरिएको छ।