
झापा। काठमाडौँबाट झापा आउँदै गरेको प्रदेश १–०१–००१–ख४२ नम्बरको यात्रुबाहक रात्रिबस आज बिहान ५ः३० बजे झापाको शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलनकुमार केसीका अनुसार दुर्घटनामा २१ जना यात्रु घाइते भएका छन्। घाइतेहरूको विर्तामोडस्थित विर्तासिटी हस्पिटल र बिएन्डसी हस्पिटलमा उपचार भइरहेको उनले जानकारी दिए।
दुर्घटनामा काठमाडौँमा जारी शिक्षक आन्दोलनबाट घर फर्किरहेका १६ जना शिक्षक घाइते भएको घाइतेमध्येका शिक्षक लीलाप्रसाद भण्डारीले बताए। घाइतेमध्ये शिक्षक गोपाल खतिवडाको अवस्था चिन्ताजनक रहेको छ।
घाइते शिक्षक भण्डारीका अनुसार बस अघिदेखि नै अस्वाभाविक रूपमा हल्लिरहेको थियो र एक्कासि सडकबाट पल्टिएको थियो। उनले घाइते अवस्थामै अन्य घाइतेहरूलाई बसबाट उद्धार गरी बाहिर निकालेको बताए।
प्रहरी उपरीक्षक केसीले बस अनियन्त्रित भई दुर्घटना भएको र चालक महेन्द्र कन्दङ्वालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए। घटनालगत्तै झिलझिले इलाका प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको थियो।