देश

सिंहदरबारतर्फ लागेको शिक्षक महासंघ टोली शिक्षामन्त्रीसँग भेट नगरि फिर्ता !

काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तसँग औपचारिक भेटघाटका लागि गएको शिक्षक महासंघको टोली अनपेक्षित रूपमा मन्त्रालय नपुगी बाटैबाट फर्किएको छ। वार्ताको तयारीमा रहेको सरकारले बोलाएको समयमा नै महासंघ सिंहदरबारतर्फ लागेपनि, भेट नघटी टोली फर्किएको हो।

शिक्षामन्त्री पन्तले आजै आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएका थिए। सोही अनुसार महासंघको प्रतिनिधिमण्डल मन्त्रालयतर्फ जाँदै थियो, तर उनीहरू कुनै स्पष्ट कारण नदिई फर्किए।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनेका छन्, आज मिति २०८२ वैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौं। तर विशेष कारणवश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौं।ू

उनले टोली किन फर्कियो भन्नेबारेमा विस्तृत विवरण नखुलाए पनि, सिंहदरबार प्रवेशका लागि शिक्षा मन्त्रालयले सार्वजनिक गरेको २५ सदस्यीय नामावलीप्रति अनभिज्ञता जनाएका छन्। सुवेदीका अनुसार उक्त नामावली महासंघले तयार पारेको होइन।

सरकार र आन्दोलनरत शिक्षकबीच संवादको वातावरण बनाउँदै गर्दा भेटघाटको प्रक्रिया यसरी अवरुद्ध हुनु आगामी वार्ता प्रयासहरूमा प्रभाव पार्ने देखिन्छ। महासंघ र मन्त्रालयबीच अबको समन्वय कस्तो हुनेछ भन्ने चासो थपिएको छ।

 

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *