देश

संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदै, प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौँ। सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आज अपराह्न १ः०० बजेदेखि सुरु हुँदैछ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका हुन्।

संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी पत्रबारे जानकारी गराउनेछन्। बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन पनि आजै हुने सम्भावित कार्यसूचीमा उल्लेख छ। अधिवेशनको पहिलो दिन भएकाले विभिन्न राजनीतिक दलका नेताहरूले दलीय आधारमा मन्तव्य राख्ने कार्यक्रम छ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनलाई सम्बोधन गर्नेछन्। व्यवस्थापन कार्यतर्फ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

गत चैत १८ गते हिउँदे अधिवेशन अन्त्य भएको थियो। संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्नेछन्। राष्ट्रपतिबाट नीति तथा कार्यक्रममार्फत संसद्लाई सम्बोधन गरिनेछ।

संवैधानिक व्यवस्था अनुसार आगामी जेठ १५ गते अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछन्। संघीय संसद्को यो अधिवेशन बजेट अधिवेशनका रूपमा पनि लिइन्छ। सचिवालयका अनुसार वैशाख १९ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने र ‘प्रि बजेट’ छलफल वैशाख २८ देखि सुरु हुने सम्भावना छ। बजेट प्रस्तुत हुनुभन्दा १५ दिनअगावै प्रि बजेट छलफल गर्नुपर्ने कानुनी प्रावधान छ।

त्यसअघि सदनमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा प्रि बजेट छलफल हुनेछ। यो अधिवेशनमा सङ्घीय निजामती सेवा ऐन र विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गर्ने प्रयास हुनेछ। अधिवेशन सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *