देश

देशभर गर्मी बढ्यो, तराईमा ‘लु’ को खतरा! सतर्क रहन मौसमविद्को चेतावनी

काठमाडौं । केही दिनयता देशभरको तापक्रम बढेको छ । कैलालीमा स्थानीय अधिकतम तापक्रम ४० डिग्री सेन्टिग्रेड पुगिसकेको छ । भैरहवा, चितवन, पर्सातिर पनि अधिकतम तापक्रम ४० डिग्री सेन्टिग्रेड तिर लम्कँदै गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मधेश प्रदेशका जनकपुर, सिराहा, सप्तरीतिर पनि ४० डिग्री सेन्टिग्रेड आसपास तापक्रम पुग्दै छ । वीरेन्द्रनगर र दिपायलतिर ३९ डिग्री सेन्टिग्रेड अधिकतम तापक्रम पुगिसकेको छ । काठमाडौंमा मङ्गलबार दिउँसो ३२ डिग्री सेन्टिग्रेड आसपास तापक्रम रेकर्ड भएको छ ।

यतिबेला मध्य र पश्चिम तराईका भू-भागमा तापक्रम अत्यधिक बढ्दो क्रममा छ । केही दिनभित्रै तराई र तराई छोएका भू-भागमा तातो हावाको लहर लु चल्ने सम्भावना मौसमविदले औल्याएका छन् । यस साताभर वर्षा हुने सम्भावना नदेखिएकाले तापक्रम थप बढ्ने सम्भावना औँल्याउँदै आमनागरिकले सतर्कता अपनाउनुपर्ने सुझाव महाशाखाले दिएको छ ।

कतिपय तराईका भू-भागमा लुको झल्को दिने गरी तातो हावा चल्न थालिसकेको स्थानीयवासीले बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *