जलश्रोत/उर्जा

कुलमानले टाट पल्टाएको प्राधिकरणलाई शाक्यले पुर्नर जन्म दिदैँ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण अहिले गम्भीर वित्तीय संकटको सामना गरिरहेको छ। अघिल्ला कार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वमा देखिएको ‘कागजी नाफा’को प्रभाव अहिले नगद अभाव, बक्यौता असुलीमा कमजोरी, र ऋणको भारी चाङसँग स्पष्ट रूपमा देखिएको छ। यो सन्दर्भमा, नव नियुक्त प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले नेतृत्व सम्हाल्दै प्राधिकरणलाई पुनः लयमा ल्याउने तयारीमा लागेका छन् ।

घिसिङको कार्यकालमा महसुल संकलन दर ९५–९६ प्रतिशतबाट घटेर ८०–८५ प्रतिशतमा झरेको छ। औद्योगिक ग्राहकहरूबाट उठाउन बाँकी रकम २७ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। प्राधिकरणले सरकारबाट लिएको १ खर्ब ६ अर्ब रुपैयाँ ऋण अझै तिर्न बाँकी छ। कुलमानले ११ अर्ब नाफा भएको दाबी गरे पनि आयकर तिरेको छैन, जसले त्यो नाफाको विश्वसनीयतामाथि प्रश्न खडा गरेको छ।

शाक्यले प्राधिकरणको नगद प्रवाह कमजोर भएको स्पष्ट रूपमा स्वीकारेका छन्। “हामी क्यास क्राइसिसमा छौं। सर्ट टर्म लोन लिएर निर्माण व्यवसायीको बिल तिर्ने अवस्थामा पुगेका छौं,” उनले बताए। शाक्यले १० अर्ब रुपैयाँ ऋण लिने तयारी गरेको र निर्माण व्यवसायीलाई ५० प्रतिशत मात्र भुक्तानी दिने योजना बनाएको बताए । शाक्यले लोडसेडिङ अन्त्यको लागि दीगो संरचना निर्माण र कुशल व्यवस्थापन आवश्यक भएको बताएका छन्। उनले उद्योगमा १२–१४ घण्टाको लोडसेडिङ घटाएर ४–५ घण्टामा झारेको दाबी गर्दै अब लोडसेडिङ ‘सपना’ बन्ने बताएका छन्। साथसाथै, सामाजिक सञ्जालमा फैलिएको भ्रम चिर्न र सर्वसाधारणको विश्वास जित्न ‘काम गरेर देखाउने’ उनको योजना छ।

माथिल्लो तामाकोशी आयोजनालाई शाक्यले समस्याग्रस्त आयोजनाको रूपमा चिनाएका छन्। ३५ अर्ब लागतका लागि डिजाइन गरिएका आयोजनामा अहिले ८०–८५ अर्ब खर्च भइसकेको अवस्थामा, पुरानै बिजुली बिक्री दरले प्रतिफल दिन नसक्ने भएकाले प्राधिकरणले अब क्षतिपूर्ति सरकारसँग माग्ने तयारी गरिरहेको छ। पूर्व नेतृत्वले १० अर्ब रुपैयाँको सेयर जारी गर्ने निर्णय गरेको भए पनि त्यो अहिले अर्थ मन्त्रालयमा अड्किएको छ। शाक्यले भनेका छन्, “अब २० वर्षअघिको नीतिअनुसार मात्रै अगाडि बढ्न सकिँदैन। नयाँ सोच, पारदर्शी कार्यशैली र ठोस कार्ययोजनाले मात्र प्राधिकरणको संकट समाधान सम्भव छ।”

नेपाल विद्युत् प्राधिकरण संकटको गहिरो खाडलमा पुगेको छ। कुलमान घिसिङको प्रचारमुखी नाफाले तत्कालीन व्यवस्थापनलाई चम्काए पनि दीर्घकालीन असर घातक बन्यो। अब हितेन्द्रदेव शाक्यको काँधमा प्राधिकरणलाई पुनर्निर्माणको यात्रामा डोहोर्‍याउने गम्भीर जिम्मेवारी छ। पारदर्शिता, जवाफदेहिता र दूरदर्शी सोचमार्फत शाक्यले प्राधिकरणलाई अगाडी बढाउने रणनीति बनाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *