काठमाडौं । सरकारले शिक्षा विधेयक वैशाख २३ मा संसदमा पेश गर्ने तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरूको आन्दोलन जारी भए पनि विधेयक तोकिएको मितिमा आउने बताएका छन्। उनले शिक्षकहरूलाई आन्दोलन फिर्ता लिएर घर फर्किन आग्रहसमेत गरेका छन्।
नेकपा एमालेनिकट पेशागत महासंघका नेताहरूसँग प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार राति भएको छलफलमा ओलीले विधेयक ल्याउने प्रक्रिया ढिलो भएको स्पष्ट पारे। उनका अनुसार संसदको अधिवेशन वैशाख १२ मा सुरु हुँदैछ र प्रि बजेट तथा नीति कार्यक्रमको छलफलपछि मात्र विधेयक पेस हुनेछ।
भेटघाटमा प्रधानमन्त्री ओली केही आक्रोशित देखिएका थिए। उनले जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकाललाई “सडकमा आन्दोलन चर्काएर यहाँ समाधान खोज्न?” भनेर व्यंग्य गरेका थिए। पेशागत महासंघका इन्चार्ज रामेश्वर फुयाँललाई पनि रिपोर्ट नगरेको भन्दै असन्तुष्टि जनाए।
शिक्षकहरूको आन्दोलनमा केहीले प्रधानमन्त्रीविरुद्ध नाराबाजी र गीतमार्फत विरोध गरेका भिडियो क्लिपसमेत बालुवाटारमा प्रस्तुत गरिएको थियो। ओलीले यस्तो आन्दोलन नियोजित भएको र कांग्रेस–माओवादी मिलेमतोमा चर्काइएको आरोप लगाए।
प्रधानमन्त्रीले शिक्षकहरूलाई पेशामा वफादार बनौं भन्दै तिखो टिप्पणी गरेका थिए। उनले भने, “तपाईंहरूले पढाएका ५१ प्रतिशत विद्यार्थी फेल भए। यदि ती फेल विद्यार्थीका अभिभावक युनियन बनाएर सडकमा उत्रिएका भए कति लाख मानिस आन्दोलनमा आउँथे?”
बैठकमा शिक्षक महासंघले अघिल्लो सरकारसँग भएको ७ बुँदे सम्झौताका आधारमा समाधान खोज्न सुझाव दिएको थियो, तर ओलीले त्यसबेलाका नेतृत्वकर्ताले जिम्मेवारी लिनुपर्ने बताए।




