
काठमाडौं । हाल काठमाडौंका सडकहरू शिक्षकहरूको आन्दोलनले तातेका छन्। नेपाल शिक्षक महासंघको अगुवाइमा भइरहेको यो आन्दोलनले शैक्षिक प्रणालीमै असर पार्न थालेको छ। वार्ताको प्रक्रियाबीच पनि आन्दोलन थप चर्किएको छ, र अब महासंघले कक्षा १२ को परीक्षा लगायतका शैक्षिक गतिविधिमा असहयोग गर्ने घोषणा गरेको छ।
शिक्षकहरूका मागप्रति समाजका विभिन्न क्षेत्र, राजनीतिक दल र सञ्चार माध्यमले समेत सहानुभूति प्रकट गरेका छन्। यति व्यापक समर्थन अघिल्ला आन्दोलनमा कमै देखिएको थियो। तर अहिले परीक्षा बहिष्कार जस्ता क्रियाकलापले भने विद्यार्थी, अभिभावक र आम जनताको चासो बढाएको छ।
नेपाल शिक्षक महासंघले परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण र विद्यार्थी भर्नाजस्ता गतिविधिमा सहभागी नहुन आह्वान गरेको छ। यसरी परीक्षा रोकिँदा विद्यार्थीको शैक्षिक जीवनमा दीर्घकालीन असर पर्नसक्ने खतरा बढेको छ। शिक्षक जस्तो जिम्मेवार भूमिका निभाउने व्यक्तिहरूले यस्तो संवेदनशील समयमा असहयोग गर्नु दुर्भाग्यपूर्ण मानिएको छ।
शिक्षकहरूको कदमले सामुदायिक विद्यालयप्रति घट्दो विश्वासलाई अझ कमजोर बनाउनेछ। अभिभावकहरू पहिल्यै निजी विद्यालयतर्फ आकर्षित भइरहेका बेला, यस्तो आन्दोलनले उनीहरूलाई सामुदायिक शिक्षाबाट टाढा पुर्याउने सम्भावना छ। स्थानीय सरकारसमेत अहिले सामुदायिक विद्यालय संचालनको समयमा शिक्षक आन्दोलनलाई थप चर्काउन मदत गरिरहेको छ । स्थानीय सरकारले आन्दोलनमा रहेका शिक्षहरुलाई समेत विद्यालय भर्ना सुरु भइसकेको भन्दै वार्ता र सहमतिको माध्यमबाट निष्कर्षमा पु¥याएर विद्याय फर्कने विषयमा बोलेको छैन् । सोही सरकारले सहमतिका आधारमा नै मागहरु सम्बोधन गर्ने बताइरहदा समेत शिक्षकहरु आन्दोलनको मज्जामा लागेका छन् ।
सरकारले चाहेमा कर्मचारी र स्वयंसेवकहरूको सहयोगमा परीक्षा सञ्चालन गर्न सक्ला। तर यसबाट न त विद्यार्थीलाई न्याय मिल्नेछ, न त शिक्षकको गरिमा जोगिनेछ। शिक्षा जस्तो संवेदनशील क्षेत्रमा विद्यार्थीको भविष्य दाउमा राख्नु उपयुक्त होइन। त्यसैले, शिक्षक महासंघले परीक्षा, उत्तरपुस्तिका परीक्षण र भर्नाजस्ता कार्यक्रम बहिष्कार गर्ने निर्णय तत्काल फिर्ता लिनु आवश्यक छ। सरकारसँगको संघर्ष अलग बाटोबाट जारी राख्न सकिन्छ, तर त्यसमा विद्यार्थीको भविष्यलाई बन्धक बनाउनु गुरुहरूको गरिमासँग मेल खान्न।
आन्दोलन जायज हुनसक्छ, तर यसको स्वरूपले शैक्षिक मूल्यमान्यतालाई असर पार्न नदिनु अत्यावश्यक छ। शिक्षा क्षेत्रको संवेदनशीलतालाई बुझ्दै, सबै पक्षले संयम अपनाउनुपर्छ।