
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालयमा छापा मारेको छ । बुधबार अख्तियारको सुर्खेतस्थित कार्यालयबाट खटिएको टोलीले बिहान समितिको कार्यालयमा छापा हानेको स्रोतले जनाएको छ ।
समितिका लेखापाल खड्कबहादुर रानामाथि तीन करोड रुपैयाँ बराबरको राजस्व हिनामिना गरेको आरोप लागेको थियो । लेखापाल रानाले रकम हिनामिना गरेको उजुरी अख्तियारको केन्द्रीय कार्यालय टंगालमा परेको थियो ।
सो उजुरीका आधारमा अख्तियारले छापा मारेको स्रोतले जनाएको छ । अख्तियारले नगदी रसिदहरूसहित अन्य कागजातहरू नियन्त्रणमा लिएको छ । करिब दुई घण्टादेखि अख्तियारको टोली उपत्यका नगर विकास समितिको कार्यालयमा खानतलासी गरेको छ ।
सो विषयमा अख्तियार सुर्खेतले गोप्य छापा भन्दै जानकारी दिन नमानेको स्रोतको दाबी छ । कार्यालयका सूचना अधिकारी धर्मराज खत्रीले सो कुरा बताए । अख्तियारले सो विषयमा अहिले अनुसन्धान जारी रहेकाले अनुसन्धान पश्चात दोषी ठहर भएमा कारबाही गर्ने जनाएको छ ।