काठमाडौं । संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गत गठित उपसमितिले विद्यालय शिक्षा विधेयकका १६३ दफामध्ये २७ दफामा सहमति जुटाएको छ। चैत ८ गते गठन गरिएको ११ सदस्यीय उपसमितिले ती दफाहरूमा छलफल गर्दै सहमति कायम गरेको हो।
समितिका एक सदस्यका अनुसार, आज बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म बसेको बैठकमा दफा २३ देखि २७ सम्म छलफल गरी टुङ्गो लगाइएको छ। भोलि पुनः बैठक बस्ने र परिच्छेद ४ अन्तर्गत परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी दफाहरूमा छलफल गर्ने योजना रहेको छ।
उपसमितिको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, शिक्षा मन्त्रालयका सचिव, कानून मन्त्रालयका अधिकारीहरू लगायतको उपस्थिति रहेको थियो। छलफलका क्रममा सांसदहरूले फरक मत राखे पनि, मन्त्रालयका अधिकारीहरूले कानूनी व्यवस्था लगायतका आधारमा सुझाव प्रदान गर्दै आएका छन्।
३५ दिने समयसीमा पाएको उपसमितिले फास्ट ट्रयाकमा छलफल गर्दै विधेयकलाई छिटो टुङ्ग्याउने प्रयास गरिरहेको छ। विवादित विषयहरूमा उच्च तहबाट राजनीतिक सहमति खोज्ने तयारी समितिको रहेको छ।
यसैबीच, नेपाल शिक्षक महासंघले विभिन्न २२ बुँदे माग राख्दै चैत २० गतेदेखि आन्दोलन गर्दै आएको छ। महासंघले गत वर्ष सरकारसँग भएको सहमति अनुसार विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राखेको छ। शिक्षकहरूको आन्दोलन र विधेयकमा देखिएका विवाद समाधान गर्न समितिले उच्च तहमा सहमति खोज्ने बताएको छ।
विधेयकमा १७५८ वटा संशोधन प्रस्ताव परेका छन्, जसमा १५२ जना सांसदहरूले संशोधन प्रस्ताव दर्ता गरेका छन्। उपसमितिले दफावार छलफल गरी सहमति जुटाएपछि पूर्ण समितिमा प्रतिवेदन पेस गर्नेछ, जसलाई सभामा प्रस्तुत गरिनेछ।
शिक्षा समितिले सबै सरोकारवालासँग छलफल गर्दै उपसमिति मार्फत विधेयकलाई छिटोभन्दा छिटो टुङ्ग्याउने प्रयास गरिरहेको छ।




