म कृष्ण केसी तनहुँ क्यामिन छापथोकमा जन्मेर मेरो प्रारम्भिक शिक्षा छापथोकमै भएको हो। त्यसपछि म बन्दीपुरमा गएर स्कुलमा अध्ययन गर्न थाले। सानै उमेरमा दाइको साथमा म थिए रामबहादुर केसी । अनि हामी त्यहाँ पढ्यौ, पछि मेरो दाइ लमजुङको शान्ति हाइ स्कुलमा पढ्न जानुभयो । यो २०१८ सालदेखि २०२५ सालसम्मको उतारचढाव हो। अनि म इन्द्रबदन मिडल स्कुल धरमपानीमा आठ कक्षामा भर्ना भए । २०२५ सालतिरको कुरा हो।
तनहुँको सदरमुकाम बन्दीपुरमा थियो। सदरमुकाम दमौलीमा सार्ने क्रममा म पनि सदरमुकाम सार्नको लागि बन्दीपुर गएको थिए। म एक समूहका बीच हामी बन्दीपुर पुग्यौ र मसँगै निर्मल पनि थिए जसको नाउँमा अहिले निर्मला हाई स्कुल बनेको छ ।बन्दीपुरका बासिन्दाहरूले ढुङ्गामुढा गरे हामी त्यहाँबाट भाग्ने क्रममा तल एउटा बारीको पर्खालमा निर्मल र मसँगै उभिएका थियौ। अनि त्यही बेलामा निर्मलको निधन भयो। पर्खाल लडेर म त बचे अनि । त्यसपछि बन्दीपुरमा रहेको सदरमुकामलाई केही समय पश्चात् दमौलीमा सार्ने काम भयो। दमौलीमा सदरमुकाम सरिसकेपछि हाइ स्कुल स्थापना गर्ने बुद्धिजीवीहरू अगाडि बढे।
हाइस्कुल स्थापना गर्नको लागि धेरै छलफलहरू गरे। अनि बुद्धिजीवीहरूको एउटा निष्कर्षमा निर्मलको नाउँमा हाइस्कुल स्थापना गर्ने कुरा भयो। निर्मलको नाउँमा हाइस्कुल स्थापना भएपश्चात् त्यहाँ धेरै छाप्राहरू बनाएर हामी त्यहाँ अध्ययन गर्न थाल्यौँ।त्यसबेलामा हामी सबै गाउँ गाउँमा गएर गाउँ मकै धान चन्दा उठाउने कामहरू गर्यौे। दुई तीन वर्षसम्म लगातार त्यो काम गर्यौ । त्यसपछि स्कुलको केही पर्खालहरू लगाउने काम भयो।
मैले यो अति सारांशमा भनेको छु। यसको विस्तृत यहाँहरूलाई पनि थाहा छ। खोज्नुभए पनि हुन्छ ।अनि त्यही क्रममा नेविसंघ गठन गर्ने कुरा पनि आयो । धेरै छलफलहरू भए अनि मेरो नाम अगाडि सारियो।नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) नेपालको सबैभन्दा पुरानो विद्यार्थी सङ्गठन हो। जसको स्थापना वि.सं. २०२७ साल (सन् १९७०) मा भएको थियो।नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्यसमितिको कुरा गर्ने हो भने संस्थापक सभापति विपिन कोइराला हुनुहुन्थ्यो सदस्य रामचन्द्र पौडेल र शेरबहादुर देउवा पनि हुनुहुन्थ्यो।
२०२८ सालमा दोस्रो केन्द्रीय समितिको अधिवेशन हुँदा शेरबहादुर देउवा सभापति हुनुभयो। र त्यसबेलामा रामचन्द्र पौडेल केन्द्रीय सदस्य हुनुभयो। जो शेरबहादुर देउवा अहिले पार्टी सभापति हुनुहुन्छ। भने रामचन्द्र पौडेल यो मुलुकको तेस्रो राष्ट्रपति हुन पुग्नुभएको छ। नेपाल विद्यार्थी सङ्घ जिल्लाहरूमा पनि गठन गर्ने अभियान सुरु भयो। त्यस क्रममा २ हजार २७ सालमा तनहुँमा पनि गठन भयो। तनहुँ नेपाल विद्यार्थी सङ्घको पहिलो अधिवेशन दमौलीमा भएको थियो।
त्यस अधिवेशनमा म संस्थापक अध्यक्ष भएको थिएँ । मलाई संस्थापक अध्यक्ष बनाउनमा सबभन्दा महत्त्वपूर्ण भूमिका रामचन्द्र पोखरेल जो निर्मल हाइस्कुल दमौलीका तत्कालीन प्रधानाध्यापक हुनुहुन्थ्यो र गोविन्दराज जोशी उहाँ मानेचौकाको प्रधानाध्यापक हुनुहुन्थ्यो। त्यसपछि तेजबहादुर पन्त निर्मला स्कुलको अध्यापक हुनुहुन्थ्यो।नेविसंघको स्थापनामा तनहुँ जिल्लाका रामचन्द्र पौडेललेको पनि सदासयता थियो। वाहाँको उपस्थिति भने भएन। तर पौडेल नेविसंघ केन्द्रीय कार्य समितिका संस्थापक सदस्य थिए।
अधिवेशन उद्घाटनको लागि नेपाली काँग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराई आउनु भएको थियो। प्रतिनिधिको रुपमा नेविसंघ केन्द्रीय कार्य समितिका संस्थापक सदस्य रामशरण महत पनि दमौली आउनुभएको थियो । नेविसंघ तनहुँको उद्घाटन पश्चात् विभिन्न व्यक्तिहरू सम्मिलित एउटा कार्यसमिति बन्यो ।कार्यसमितिमा सभापतिमा म कृष्णबहादुर केसीलाई मनोनयन गरिएको थियो भने त्यस कार्यसमितिमा
उपसभापतिमा श्रीभक्त आचार्य,
सचिवमा बाबुराम अकेला,
कोषाध्यक्षमा भक्तबहादुर थापा,
सदस्यहरूमा
कृष्णराज वाग्ले (साँघे )
ऋषिराम केसी,
रामचन्द्र खनाल,
समरबहादुर अधिकारी,
गुरुप्रसाद भट्टराई,
रामबहादुर पाण्डे,
सूर्यप्रसाद भट्टराई,
हुत राज जोशी,
दयानिधि खनाल,
अमरराज कैनी,
रमेश हड्खले
कृष्णराज वाग्ले (क्यामिन , छापथोक नरंगा )चयन हुनुभएको थियो। नेविसंघ गठन भइसकेपछि हामीले पहिलो काम सरकारको विरोधमा नाराबाजी लगाउन सुरु गर्यौे अनि त्यसपछि बङ्गलादेशको जुल्फीकर अलि भुट्टोको विषयमा एउटा ठुलै प्रदर्शन गरियो जसमा म घाइते पनि भएँ ।अर्को कार्यक्रम २८ साल पुस एक गतेलाई कालो दिवस मनाउने कुरा भयो। त्यस क्रममा मलाई पुलिसले गिरफ्तार गर्योे र पोखरामा लगेर राख्यो। गिरफ्तार गरेपछि पोखरा लैजाने क्रममा राति १२ बजे दमौलीबाट पोखरासम्म लगियो। भर्खर पृथ्वीराज मार्गको ट्र्याक खुल्दै थियो। त्यही ट्याकमा थोत्रो एउटा मोटरमा राखेर राति १२ बजे मलाई हिँडाइयो।
मलाई पोखरा लागिसकेपछि १५ दिनसम्म ठेड्कामा राखियो। हत्कडी लगाइयो। १५ दिनपछि गण्डकी अञ्चलाधिस कार्यालयमा उपस्थित गराइयो। त्यस बेला मलाई राजकाज मुद्दा लगाइयो। करिब दुई वर्ष म पोखरा जेलमा बसेँ मुद्दा हारेर । मैले २९ सालमा एस एल सी जेलबाट पास गरे। अनि म काठमाडौँ आए काठमाडौँ आएपछि सरस्वती कलेजमा भर्ना भए अनि त्यो कलेजमा स्वतन्त्र विद्यार्थी युनियन को नेतृत्व गर्ने अवसर पाए। यो २०३० सालतिरको कुरा हो। २०३० सालदेखि ४२ सालको बिचमा धेरै पटक शान्ति सुरक्षा मा मलाई गिरफ्तार गरे। करिब ६ वर्ष मैले जेल जीवन बिताए ।
हाल मेरो पैत्रिक सम्पत्ति व्यास नगरपालिका वडा नम्बर ७ नरंगामा छ।म हाल काठमाडौँमा बसोबास गर्दै आइरहेको छु। अहिले पनि साथीहरूले मलाई सम्पर्क गर्नुहुन्छ, इतिहास सोध्नुहुन्छ, इतिहास लेख भन्नुहुन्छ। तर मैले यो संक्षिप्त जानकारी मात्र दिएको हुँ । यसलाई लिपिबद्ध गरेर इतिहास लेख्ने प्रयास गरेको होइन। मैले खाली यहाँहरूलाई छोटकरीमा जानकारी दिने मात्र प्रयास गरेको हुँ। यसमा केही कमी कमजोरी भए, त्रुटि भए, बिर्सेको कुरो भए जानकारी गराइदिनुहोला। यो लेखको रुपमा होइन।
मेरो आफ्नो अनुभवलाई यहाँहरू समक्ष टिपोटको रुपमा पुर्याउने कोसिस मात्र गरेको हुँ। योभन्दा बढी लेख्न जान्ने, राजनीति बुझेका, राजनीति गरेका ठूलाठूला नेताहरू तनहुँमा थुप्रै छन्। उनीहरूले लेख्लान् र लेख्ने बेलामा यसलाई पनि टिपोटको रुपमा राखेर लेख लेख्लान् भनेर मैले आशय मात्रै व्यक्त गरेको हुँ। मेरो आफ्नो अनुभव मात्रै बाँडेको हो।नेपाली काङ्ग्रेसको कुरा गर्नु पर्दा, यो नेपालको एक प्रमुख राजनीतिक दल हो, जसको स्थापना २००३ सालमा भएको थियो। यसले लामो समयदेखि नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेको छ।
यो बिचमा २००३ सालदेखि २०८२ सालसम्म आउँदा नेपाली काँग्रेसमा धेरै उतारचढावहरू भए । धेरै घात अन्तर्घात भए ।उतारचढावको रुपमा हेर्ने हो भने शेरबहादुर देउवाबाट पनि एउटा त्यस्तो काम भएको थियो। जुन नेपाली काँग्रेस प्रजातान्त्रिक गठन गरेर चर्चामा आउनुभएको थियो। वाहाँले वि सं २०५८ मा नेपाली काङ्ग्रेसबाट अलग भएको घोषणा गर्दै नेपाली काँग्रेस प्रजातान्त्रिक गठन गर्ने नेता हुनुहुन्थ्यो शेरबहादुर देउवा । तर, २०६२ र २०६३ को जनआन्दोलनपछि देउवाले नेपाली काँग्रेससँग पार्टी एकता गर्नुभयो ।
त्यस बेला कमैले सोचेका थिए, ‘पार्टी फुटाएर हिँडेको नेता फेरि काँग्रेसकै सभापति बन्नेछ भनेर । तर, धेरैको आङ्कलन विपरीत १३ औँ महाधिवेशनमा देउवा नेपाली काँग्रेसको सभापतिमा निर्वाचित हुनुभए । यो विश्व राजनीतिमै बिरलै पाइने घटना थियो । तर, १३ औँ महाधिवेशनबाट ‘पार्टी सत्ता’ हत्याएका देउवाले काँग्रेसलाई गति दिन भने सक्नुभएन । भातृ सङ्गठनहरूको स्थिति ‘भाँडभैलो’मै छ । नेविसंघ र तरुण दलका नेताहरूको महाधिवेशन कुर्दैमा कपाल फुल्न लागेको चर्चा चल्छ पार्टी कार्यालय सानेपामा । तर, पनि सभापति देउवाले ठोस पहल लिनुभएको छैन ।
देशकै पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेस । तर, भित्रभित्रै गुटगुटैले जेलिएको छ । महाधिवेशनका बेला देखिने तीन समूह (देउवा–पौडेल–सिटौला )अहिले दर्जन वरिपरिका गुटमा विभक्त छन् । नेताहरू सिद्धान्तको बहसमा छैनन् । तर, काँग्रेसभित्रको ‘गुट सङ्घर्ष’ सार्वजनिक रूपमै छताछुल्ल हुने गरेको छ ।नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिमा नेताहरू १० गुटमा बाँडिएका छन् । यस्ता छन् काँग्रेसका १० समूह र उनीहरू बिचको शक्ति सङ्घर्ष निरन्तर चलिनै रहेको छ।




