काठमाडौं । गत चैत १५ गते शुक्रबार राजावादी समर्थकको आक्रमणपछि जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा भीषण आगलागी भएको थियो। आगजनीका कारण कम्पनीलाई २८ करोड रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ।
कम्पनीकी महाप्रबन्धक संगीता यादवका अनुसार राजावादीले लगाएको आगोबाट स्वचालित प्रविधिमा सञ्चालन भएका भवनहरू, औषधि उत्पादनका सामग्री, उपकरण, फर्निचर र कागजातहरू पूर्ण रूपमा नष्ट भएका छन्। आगलागीपछि उत्पादन पूरै ठप्प भएको छ।
कम्पनीलाई पुरानै अवस्थामा फर्काउन कठिन भए पनि अस्थायी संरचना तयार गरेर उत्पादन पुनः थाल्ने योजना बनाइएको छ। सरकारी सहयोगबिना कम्पनीलाई पुनःस्थापित गर्न असम्भव छ, यादवले भनिन्। वन मन्त्रालयसँग १० करोड रुपैयाँको सहायता माग गरिएको बताउँदै उनले सरकारलाई यस विषयमा गम्भीर बन्न आग्रह गरिन्।
भवन खण्डहर, कर्मचारी बिचल्ली
कम्पनीको परिसर अहिले खरानीमा परिणत भएको छ। सिसाका टुक्राहरू यत्रतत्र छरिएका छन् भने गाडी, मोटरसाइकल र उत्पादन सामग्री पूरै जलेर नष्ट भएका छन्। कम्पनीमा कार्यरत कर्मचारीहरू अन्योलमा छन्। ७० प्रतिशतभन्दा बढी महिला कर्मचारी रहेको यो संस्थामा धेरैको रोजगारी खतरामा परेको छ।
विदेशी बजारसम्म फैलिएको ‘सञ्चो’ संकटमा
कम्पनीले ‘सञ्चो’ ब्रान्ड अन्तर्गत बाम, शिलाजित, मसाज तेल, पेन रिलिफ तेल जस्ता उत्पादनहरू तयार गर्दै आएको थियो। स्विडेन जस्ता देशहरूमा निर्यात हुने ‘सञ्चो तेल’ उत्पादन ठप्प भएपछि विदेशी बजारमा प्रभाव पर्ने खतरा बढेको छ।
महाप्रबन्धक यादव भन्छिन्, हामी आफैं कमाउने र चलाउने संस्था हौं। उत्पादन रोकिनु हुँदैन। तर, पुनःउत्थान गर्न सरकारको साथ आवश्यक छ। कम्पनीलाई जोगाउन तत्काल राहत कोषको व्यवस्था, संरचना पुनर्निर्माण र उत्पादन पुनः सञ्चालनका लागि सरकारी पहल आवश्यक देखिएको छ। सरकारले सहयोग नगरेमा दशकौंको मेहनतमा बनेको यो ऐतिहासिक उद्योग संकटमा पर्न सक्ने खतरा छ।




