राजनीति

नागरिक मर्दै गर्दा निर्मल निवास नदुख्ने कस्तो राजाको परिकल्पना: विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले संसदमा प्रधानमन्त्रीको सम्बोधनका क्रममा भएको अवरोध संसदीय मर्यादाविपरीत भएको बताएका छन्। उनले प्रतिपक्षी सांसदलाई जिम्मेवार बन्न आग्रह गरेका छन्।

“संसदीय प्रणालीमा संसद् सञ्चालनको परम्परा, मर्यादा र विधि हुन्छन्। प्रधानमन्त्री बोल्दै गर्दा बीचमा उभिएर प्रश्न गर्ने तथा सम्बोधनपछि सवालजवाफ गर्ने कुरा कुनै नियमावलीले तोकेको छैन। आज जे भयो, त्यो गलत हो,” शर्माले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनपछि सांसद ज्ञानेन्द्रबहादुर शाहीले आपत्ति जनाउँदै प्रश्न उठाएका थिए। यसलाई शर्माले संसदीय मर्यादाविपरीत भनेका हुन्।

उनले तीनकुनेमा भएको घटनाको निन्दा गर्दै सबै राजनीतिक दलले दुःख व्यक्त गर्दा पूर्वराजाले कुनै चासो नदेखाएको बताए।

“सशस्त्र आन्दोलनमा हिंसा हुन्छन्। कांग्रेसले पनि हिंसात्मक सङ्घर्षको नेतृत्व गरेको थियो। विपी कोइरालाले अदालतमा बयान दिँदै जिम्मेवारी लिएका थिए। तर, तीनकुने घटनामा पूर्वराजाले दुःख समेत व्यक्त गरेनन्,” शर्माले भने।

उनले राजाले पटक-पटक संविधान र लोकतन्त्रमाथि धावा बोलेपछि गणतन्त्र आएको बताए। “नागरिकमा असन्तुष्टि होलान्, तर समाधान राजा होइनन्। गणतन्त्रको विकल्प खोज्ने होइन, सुधार गर्नुपर्छ,” उनले भने।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *