विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई कमान्डर तोकेर सुरु भएको राजसंस्था पुनःस्थापनाको आन्दोलन पहिलो दिन नै आर्यघाटमा पुगेको छ । आन्दोलनको नाममा तोडफोड, लुटपाट, आगजनी, व्यक्ति हत्यासमेत भएपछि राजावादीको मुकुण्डो उघ्रिएको हो ।
तीनकुने क्षेत्रमा ताण्डव निम्त्याउने प्रसाई फरार छन् । शुक्रबारको हिंसात्मक आन्दोलनका मतियार बनेका राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायतविरुद्ध प्रहरीले संगठित अपराध र राज्य कसुरको मुद्दा दर्ता गरेको छ । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी नजरबन्दमा छन् । प्रहरीले उनको मोबाइल स्विच्ड अफ गरेको छ । आफू नजरबन्दमा परेपछि सुवेदीले जगमान गुरुङलाई कार्यबाहक दिएका छन् । गुरुङसमेत प्रहरीको निगरानीमा छन् । यसरी एकै झड्कामा दुर्गा प्रसाईले राजावादीको सपनामा पानी फेरिदिएका हुन् ।
फरार भनिएका प्रसाईले आइतबार सामाजिक सञ्जाल फेसबुकबाट आफू नभागेको तर काठमाडौंको मन्दिरमा लुकेर बसेको जनाउ दिएका छन् । उनी ललितपुरमा राजावादीकै एक घरमा लुकेर बसेको आशंका गरिएको छ । उनले आफूलाई प्रधानमन्त्री केपी ओलीले देख्नेवित्तिकै गोली हान्न आदेश दिएको दाबी गर्दै सुरक्षित बसेको उल्लेख गरेका छन् ।
दुर्गा प्रसाई समूह छिन्नभिन्न भएपछि राजसंस्थाको एजेन्डा आफूले उठाउन सकिन्छ कि भन्ने दाउमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन छन् । शनिबार राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पक्राउ परेका रवीन्द्र मिश्र र धवलशमशेर राणालाई २४ घन्टाभित्र रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएको थियो । राप्रपाले दिएको समयावधि गुज्रिसकेको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा राप्रपा अध्यक्ष लिङ्देनले छाती पिटीपिटी आफूहरू राजावादी भएको भन्दै पक्राउ गरेर जेल हाल भनेर धम्की दिनुले राजावादीको सहानुभूति बटुल्न सकिन्छ कि भनेर हो । उनको भित्री मक्सद गणतन्त्रवादी शक्तिहरूले नबुझ्ने कुरै भएन । हिजो गणतन्त्रवादी शक्तिसँग मिलेर मन्त्री र उपप्रधानमन्त्री बनेका लिङ्देनको रुवावासीको कुनै अर्थ छैन ।
सडकमा राजावादीहरू भ्याकुम देखिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले ठाउँ लिने प्रयत्न गरेको छ । केही दिनअघि रास्वपा सभापति रवि लामिछानेले दिएको ‘गेट रेडी फर रेभुलेसन’ अभिव्यक्ति र सोमबारदेखि उनी सभापतिको कार्यकारी भूमिकामा फर्किन खोज्नुलाई यसरी विश्लेषण गर्न थालिएको छ । रास्वपामा राजावादी लाइन समात्ने कि गणतन्त्रवादी लाइन समात्ने भन्ने बहस छ । रास्वपाबाट निकालिएका पूर्वमहामन्त्री मुकुल ढकालले रवि राजावादी लाइन समात्ने पक्षमा रहेको सार्वजनिक गरिसकेका छन् । त्यही भएर अहिले राजावादीले रवि लामिछानेको ‘मुभ’ नियालिरहेका छन् । राजावादीको आन्दोलनले उनी उत्साहित देखिएका छन् । रविकै ससुरा उद्धव पौडेल राप्रपा कोषाध्यक्ष हुन् । त्यसैले रास्वपा र राप्रपाबीच कार्यगत हुनसक्ने अनुमान गरिएको छ ।




