देश

ढोरपाटनमा दोस्रो सिकार याम सुरु, करोडौं राजस्व संकलन

बागलुङ, ढोरपाटन। नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकार याम सुरु भएको छ। यस याममा १३ नाउर, १० झारल र १२ बँदेल गरी कुल ३५ वन्यजन्तुको सिकार हुने अनुमति दिइएको छ।

वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले माघ १५ गते बोलपत्र आह्वान गरेपछि हिमालयन वाइल्डलाइफ आउटफिर्टस, ट्रयाक्स एण्ड ट्रेल्स, हिमालयन सफारिज, ग्लोबल सफारिज नेपाल, नेपाल ट्राभल एक्सपिडिसन र ओपन नेपाल वाइल्डलाइफ सफारिज गरी ६ कम्पनीले सिकारको अनुमति पाएका छन्।

चैत २६ गतेदेखि सुरु भएको यो सिकार याम वैशाख १६ गतेसम्म चल्नेछ। ढोरपाटन सिकार आरक्ष कार्यालयका रेन्जर सागर सुवेदीका अनुसार हालसम्म दुई नाउरको सिकार भइसकेको छ। स्पेनका ७० वर्षीय मार्कोस ओलाइजोला अल्कोर्टाले सुनदह ब्लकमा र अर्को नाउर फागुने ब्लकमा ग्लोबल सफारिज नेपालले सिकार गरेका हुन्।

यस पटक अमेरिका, अर्जेन्टिना, स्पेन र फ्रान्सका सिकारीहरु ढोरपाटन आएका छन्। एक झारलको सिकार शुल्क ८ लाख र नाउरको ६ लाख २५ हजार ५ सय रुपैयाँ तोकिएको छ।

ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीका अनुसार सुनदह, सेङ, भुस्तुङ, दोगाडी, फागुने र बार्से ब्लकमा सिकार भइरहेको छ। दोस्रो याममा १ करोड २६ लाख रुपैयाँ राजस्व संकलन भएको छ। सिकारीले मारेको वन्यजन्तु लैजान पनि थप राजस्व तिर्नुपर्ने प्रावधान छ। ढोरपाटनमा वर्षमा दुई याम (असोज–मंसिर र फागुन–वैशाख) मा सिकार खुला गरिन्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *