काठमाडौं । युद्ध रोक्ने विषयमा साउदी अरेबियामा वार्ता जारी रहँदा रुसले युक्रेनमाथिको आक्रमणलाई थप तीव्र बनाएको छ। उत्तर-पूर्वी युक्रेनका विभिन्न स्थानमा रुसले गरिरहेको आक्रमणमा थुप्रै मानिस घाइते भएका छन्। सोमबार बिहान सुमी शहरमा भएको आक्रमणमा दर्जनौँ नागरिक घाइते भए। युक्रेनी अधिकारीहरूले जनाएका छन् कि, यसपछि पनि रुसले आक्रमणलाई निरन्तरता दिइरहेको छ।
युक्रेनका विदेशमन्त्री आन्द्रैई सिबिहाले रुसले आक्रमण जारी राखेको भन्दै खोक्रो शान्तिवार्ताको आरोप लगाएका छन्।
साथै, अमेरिका र रुसबीच साउदी अरबको रियादमा सम्पन्न वार्तामा सन् २०२२ को अनाजसम्बन्धी सम्झौतामा जोड दिइएको थियो। यस सम्झौतामा युक्रेनलाई ब्ल्याक सीबाट आफ्नो अनाज निर्यात गर्न अनुमति दिइएको थियो।
तर, यसको बदलामा रुसले अमेरिका र अन्य पश्चिमा देशहरूबाट लगाइएका प्रतिबन्ध फुकुवा गर्न चाहन्छ। रुस र अमेरिकाबीच १२ घण्टासम्म चलेको यो वार्ताका बीच युक्रेनमा भने आक्रमण जारी रहेको पुष्टि भएको छ।




