अर्थ

कुलमान घिसिङलाई मन्त्रालय सरुवा गर्ने तयारी, उत्तरदायित्व कसले लिने?

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई ऊर्जा मन्त्रालयमा सरुवा गर्न सरकारले तयारी गरेको छ। सरकारी स्रोतका अनुसार, घिसिङलाई हितेन्द्र देव शाक्यकै जसरी मन्त्रालय सरुवा गरेर उपकार्यकारी निर्देशकलाई निमित्त दिने तयारी छ,’ प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आज बस्ने मन्त्रिपरिषदको बैठकले सो निर्णय गर्ने तयारी गरेको छ ।

घिसिङलाई सरुवा गर्ने निर्णयमा उनले सरकारलाई असहयोग गरेको, निर्देशन नमानेको र आफ्नै इच्छाअनुसार निर्णय गरेको आरोप छ। ऊर्जा मन्त्री दीपक खड्काले संसद् र अन्य सार्वजनिक मञ्चहरूमा घिसिङको खुला आलोचना गर्दै आएका छन्। मन्त्री खड्काले घिसिङलाई उज्यालोको नायक मान्न नसकिने बताउँदै लोडसेडिङ अन्त्य गर्ने श्रेय निजी क्षेत्र र भारतलाई दिनुपर्ने दाबी गरेका छन्।

घिसिङ र मन्त्री खड्काबीच मतभेद बढ्दै गएको छ। डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता विवादमा पनि दुईबीच मतभेद रहेको छ। घिसिङले सञ्चालक समितिको निर्देशन नमानेको, मन्त्रालयले गठन गरेको समितिलाई डेटा नदिएको र मन्त्रीको निर्देशन पालना नगरेको आरोप लागेको छ। यसले गर्दा मन्त्री खड्का रिसाएर चुर भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली पनि घिसिङलाई हटाउने पक्षमा छन्। डेडिकेटेड ट्रंकलाइन विषयमा गठन गरिएको जाँच आयोगको प्रतिवेदन कार्यान्वयन नगरेको र सरकारले दिएको निर्देशन पालना नगरेको भन्दै प्रधानमन्त्री ओली घिसिङप्रति असन्तुष्ट छन्। सरकारले घिसिङलाई छ पटक स्पष्टीकरण मागिसकेको छ भने ऊर्जा मन्त्रालयले उनको कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएको छ।

घिसिङलाई मन्त्रालयमा सरुवा गरेपछि प्राधिकरण कै उपकार्यकारी निर्देशकलाई निमित्तको जिम्मेवारी दिने तयारी छ। बरिष्ठताको आधारमा दिर्घायुकुमार श्रेष्ठले सो जिम्मेवारी दिने उच्च संभावना रहेको छ । सरकारले उनलाई कार्यकारीमा नियुक्ति नगरे अन्य उपकार्यकारी निर्देशक मदन तिम्सिना र फणिन्द्रराज जोशीलाई जिम्मेवारी दिने चर्चा भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *