काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा बस्दैछ। यो बैठक हालको राजनीतिक परिवेश, सरकारको गतिविधि, पार्टीको आन्तरिक एकता र आगामी रणनीतिमा केन्द्रित हुने अपेक्षा गरिएको छ।
पार्टीका कार्यबहाक मुख्यसचिव प्रदीप पराजुलीका अनुसार बैठकमा केन्द्रीय पदाधिकारीहरू तथा कार्यसम्पादन समितिका सदस्यहरूको उपस्थिति रहनेछ। यस बैठकलाई पछिल्लो समय सरकार र प्रमुख विपक्षी दलहरूबीच देखिएको तिक्तता, गठबन्धनको भविष्य र आगामी राजनीतिक रणनीति तय गर्न महत्वपूर्ण रूपमा हेरिएको छ।
सरकारमा रहेको नेपाली कांग्रेसले हाल संसदमा मुख्य भूमिका खेल्दै आएको छ । कांग्रेस र एमाले नेतृत्वको सरकारमा कांग्रेसले सत्ताप्रतिपक्षहरुले लगाएका विभिन्न आरोप र आगामी राजनीतिक भविष्यका बारेमा दृढ भएर अघि बढ्ने योजना बनाइरहेको छ। प्रधानमन्त्री केपी शर्माओली नेतृत्वको सरकारले गरेका केही निर्णयहरुमा समेत कांग्रेसले सबैलाई एकसाथ लिएर अघि बढ्नुपर्ने र राष्ट्रिय एजेण्डाका विषयमा एक ठाउँमा उभिन सबैलाई आग्रह गर्दै आएको छ । सरकारको कामकारबाहीप्रति कांग्रेस नेतृत्व असन्तुष्ट देखिएको छ। खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारप्रति कांग्रेसले बारम्बार आलोचना गर्दै आएको छ। कांग्रेस नेतृत्वले बैठक सरकारसँगको सम्बन्ध पुनः परिभाषित गर्ने र पार्टीको आगामी रणनीति बनाउन महत्वपूर्ण भएको बताउँदै आएको छ ।
सत्तारूढ गठबन्धन र विपक्षी दलहरूसँगको सम्बन्धबारे गहिरो छलफल हुने सम्भावना छ। कांग्रेस नेतृत्वले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै आएको छ । सरकारले लिएका पछिल्ला निर्णयहरू, आर्थिक नीतिहरू र जनअपेक्षाअनुरूपको काम भएरनभएको विषयमा समीक्षा हुनेछ। यस्तै नेपाली कांग्रेसले स्थानीय तहदेखि संघीय र प्रदेश तहका आगामी चुनावमा पार्टीको तयारी र रणनीति निर्माणमा बैठक केन्द्रित रहेको स्रोतले जनाएको छ । पार्टीभित्रको गुटबन्दी, संगठन सुदृढीकरण, र असन्तुष्ट नेताहरूसँग संवाद गर्ने विषयमा पनि छलफल हुने सम्भावना छ। कांग्रेसले सत्ता गठबन्धनमा कसरी भूमिका निर्वाह गर्ने भन्ने विषयमा स्पष्ट नीति बनाउन बैठक महत्वपूर्ण हुने देखिन्छ।
सभापति शेरबहादुर देउवामाथि पार्टीभित्रैबाट दबाब बढ्दै गएको छ। विशेषतः गगन थापा, विश्वप्रकाश शर्मा लगायतका युवा नेताहरूले पार्टीलाई थप गतिशील बनाउन नेतृत्वलाई चुनौती दिइरहेका छन्। गत मंगलबार देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले यो कार्यसम्पादन समिति बैठक आह्वान गर्ने निर्णय गरेको थियो। त्यो बैठकमा आन्तरिक असन्तुष्टि सम्बोधन र भावी रणनीति बनाउने विषयमा छलफल भएको थियो। कांग्रेसले सरकारलाई जवाफदेही बनाउन सक्छ कि सक्दैन भन्ने प्रश्न सर्वत्र उठिरहेको छ।
गुटबन्दीले कमजोर बनाएको पार्टीलाई एकताबद्ध गर्दै आगामी निर्वाचनमा बलियो प्रतिस्पर्धी बन्ने चुनौती देखिएकाले सभापति देउवाले कांग्रेसलाई बलियो बनाउन पार्टीभित्रको गुट र उपगुटलाई बिर्सिएर एक ढिका भएर बहुमत ल्याने तरिकाले निर्वाचनमा लाग्नुपर्ने बताउँदै आएका छन् । कांग्रेसले गठबन्धनलाई निरन्तरता दिने कि एक्लै अगाडि बढ्ने भन्ने विषयमा स्पष्ट नीति तय गर्नुपर्नेमा कांग्रेसभित्र प्रश्न उठेको छ। बैठकले कांग्रेसभित्रको आन्तरिक विवाद व्यवस्थापन गर्दै भावी राजनीति र सरकारप्रतिको आफ्नो धारणा सार्वजनिक गर्ने अपेक्षा लिएको छ । यस्तै बैठकले कांग्रेसको आगामी दिशा तय गर्न निर्णायक भुमिका खेल्नेछ।




