झापा। एसियाली राजमार्ग अन्तर्गत काँकडभिट्टादेखि पाडाजुँगीसम्मको ४५ किलोमिटर खण्डको स्तरोन्नति कार्य अत्यन्तै सुस्त गतिमा भइरहेको छ। एसियाली विकास बैंकको सहयोगमा सडक विभागको आयोजना निर्देशनालयले ठेक्का दिएको यस परियोजनाको हालसम्मको भौतिक प्रगति १५ प्रतिशत मात्र रहेको छ।
काँकडभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड) दमक कार्यालयका आयोजना प्रमुख सुनिलबाबु पन्तका अनुसार, निर्माण अवधिको तुलनामा कम्तीमा २० प्रतिशत काम सम्पन्न भइसक्नुपर्ने थियो। एभ्रास्कन कालिका जेभीले २०८० कात्तिक २ गते सम्झौता गरी २०८३ माघ १९ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। तर, हालको गति हेर्दा निर्धारित समयमा सम्पन्न हुनेमा आशंका उत्पन्न भएको छ।
“मौसम अनुकूल हुँदा पनि निर्माण कम्पनीले अपेक्षित गतिमा काम गरेको छैन,” पन्तले भन्नुभयो, “हामीले उनीहरूलाई काम तीव्र पार्न निरन्तर दबाब दिइरहेका छौँ।”
हाल कल्भर्ट, पुल र माटो भर्ने कार्य भइरहेको छ। एक सय ४३ कल्भर्टमध्ये ९३ वटाको काम सम्पन्न भएको छ भने १८ साना पुलमध्ये १७ वटा निर्माणाधीन छन्। पुल निर्माणको प्रगति १३ प्रतिशत मात्र छ। एसियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारको साझेदारीमा ३४ अर्ब ९० करोड रुपैयाँको लागतमा यो परियोजना अघि बढेको हो।
कनकाई, बिरिङ र निन्दा खोलाका पुलको ठेक्का भने फरक कम्पनीलाई दिइएको छ। बर्खा लाग्नुअघि कामको गति बढाउन निर्देशन दिइएको छ। यस आर्थिक वर्षमा कम्तीमा १० किलोमिटर राजमार्ग कालोपत्रे गर्ने लक्ष्य राखिएको छ।
यस खण्डको चारआली जंगलमा वन्यजन्तुमैत्री संरचना ‘इलिफेन्ट अन्डर पास’को निर्माण पनि भइरहेको छ। १५ मिटर लम्बाइ र साढे ६ मिटर उचाइको यो संरचना निर्माणाधीन सडकभन्दा डेढ मिटर अग्लो हुनेछ।




